संगालोखबर संवाददाता

बागलुङ। अवैध लागुऔषधसहित भारतीय नागरिक दीपेन्द्र हरिजन पक्राउ परेका छन् । भारतको महाराजगन्च, झिम्टी गाउँका १८ वर्षीय हरिजनलाई बागलुङ नगरपालिका–१ रामरेखाबाट प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।

Advertisement

उनको साथबाट लागुऔषध फेनार्गन, नुर्फिन, डाइजपाम सय–सय एम्पुल र नाइट्राजेपाम दुई पत्ता बरामद गरिएको प्रहरीले जनाएको छ ।

हरिजनलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रनाउ अनिलकुमार खड्काले जानकारी दिनुभयो । हरिजन भारतबाट लागुऔषध ल्याई बागलुङ आसपासका क्षेत्रमा बेच्ने कार्यमा सक्रिय थिए ।

“लागुऔषधको कारोबारमा ठूलै गिरोह सक्रिय छ”, प्रनाउ खड्काले भन्नुभयो, “प्रहरीले अनुसन्धान तीव्र पारेको छ ।” गत मङ्गलबार मात्रै लागुऔषधसहित तीन युवकलाई प्रहरीले बागलुङ–पर्वत सीमास्थल मालढुङ्गाबाट पक्रेको थियो ।

तीमध्ये एक युवक बागलुङ नगरपालिका–३ बस्ने सुनिल पुन प्रहरीलाई छलेर भाग्ने क्रममा कालीगण्डकी नदीमा बेपत्ता छन् । बागलुङबाट ट्याक्सीमा पर्वतको कुश्मा जाँदै गरेका बानपा–१ का २८ वर्षीय दीपेन्द्र कार्की र ट्याक्सी चालक मकवानपुरका २४ वर्षीय भीमसेन लामा प्रहरीको नियन्त्रणमा छन् ।

उनीहरुको साथबाट लुकाई छिपाई राखेको लागुऔषध डाइजेपाम तीन, नुर्फिन तीन, फेनार्गन चार एम्पुल, नाइट्राजेपाम तीन र चार थान सुई प्रहरीले बरामद गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement