मङ्गलबारे, २ माघ । इलामको फाकफोकथुम गाउँपालिका–२ साप्तिनका खेमप्रसाद ढुङ्गानाले यसपटक अदुवाबाट रु एक लाख आम्दानी गर्नुभयो । यसअघि अदुवाबाट खर्चसमेत मुस्किलले उठाउने ढुङ्गानाले अदुवा बेचेर यसपालि पर्याप्त आम्दानी गरेको सुनाउनुभयो ।

Advertisement

“पहिले बिउ, गोडमेल, मलको समेत मूल्य उठ्दैनथ्यो, तर यसपालि अदुवाबाट निकै राम्रो आम्दानी भयो”, उहाँले थप्नुभयो, “गर्नचाहिँ छाड्नुहुने रहेनछ, कुनै दिन भाउ आउँदोरहेछ ।”

त्यहीँका खडानन्द ढुङ्गानाले पनि अदुवाबाट रु एक लाख ५० हजार आम्दानी गर्नुभयो । “अदुवाबाट यतिको धेरै आम्दानी भएको मेरो पहिलो पटक हो”, उहाँले भन्नुभयो, “यसपालि राम्रो मूल्य आएकाले अदुवा खेतीमा कृषकमा आशा पलाएको छ ।”

उहाँहरू मात्र होइन अदुवाबाट यसपालि धेरैले राम्रो आम्दानी गरेका छन् । गत वर्षको तुलनामा यसपटक अदुवा प्रतिमन (४० किलोको एक मन) रु दुई हजार ५०० देखि तीन हजारसम्म पुगेको छ । यतिबेला किसान धमाधम अदुवा खन्नमा व्यस्त छन् भने कतिपयले खनेर बिक्रीसमेत गरिसकेका छन् ।

अदुवाबाट भएको आम्दानीले किसानले घर खर्च मात्र चलाएका छैनन्, आफ्ना बालबच्चालाई राम्रो विद्यालय पढाएका पनि छन् । अदुवामा कुनै पनि रोग नलागेकाले यस पटक उत्पादनसमेत बढेको कृषक बताउँछन् । “विगतमा पात पहेँलिने, अदुवा कुहिने समस्या देखापर्दथ्यो तर यो वर्ष त्यस्ता समस्या देखिएन”, खेमप्रसादले रासससँग भन्नुभयो, “अदुवाबाट भएको आम्दानीले घर व्यवहार धानेको छु ।”

“अदुवाको मूल्य अहिलेसम्मकै उच्च हो”, बिब्ल्याँटेका अदुवा व्यापारी कृष्ण पौडेलले भन्नुभयो, “मूल्य उच्च भएपछि गाउँगाउँबाट अदुवा आउने क्रम बढ्दै गएको छ ।” उत्पादनको शुरूमा प्रतिमन रु एक हजार ५०० देखि दुई हजारसम्म पुगेको थियो । यस पटक कृषकले प्रतिमन रु दुई हजार ५०० सम्म अदुवा बेचेका थिए ।

यस वर्ष भारतको पञ्जाब, सिक्किम र आसाम राज्यमा अदुवाको उत्पादन कम भएकाले नेपाली अदुवाले राम्रो मूल्य पाएको व्यापारी बताउँछन् । गाउँमा स्थानीय व्यापारीले अदुवा किनेर जिल्लाका ठूला व्यापारीलाई दिने गरेका छन् । मौसममा आठ ट्रकसम्म अदुवा सङ्कलन गरेर बिक्री गर्ने गरेका आमचोकका इन्द्रप्रसाद अधिकारीले पनि यसपटक अदुवाको मूल्य उच्च भएको बताउनुभयो ।

विगत वर्षदेखि नै इलामको अदुवा भारतीय बजारमा निकासी हुँदै आएको छ । मेची राजमार्गले छोएका जिल्लाका व्यापारिक केन्द्र कोल्बुङ, हर्कटे, फिक्कल, तीनघरे, इलाम, बिब्ल्याँटे, राँकेलगायतका स्थानमा यस पटक उच्च मूल्यमा अदुवा खरिद बिक्री भइरहेको छ ।

जिल्लाका ग्रामीण भेगमा अधिकांश कृषकले अदुवा खेती गर्दै आएका छन् । घर खर्च चलाउनदेखि छोराछोरी पढाउन र अन्य आर्थिक कारोवार गर्न समेत अदुवाको व्यावसायिक खेती गर्दै आएका छन् । इलाममा तीन हजार ७५ हेक्टर जमीनमा अदुवा खेती हुँदै आएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!