संगालोखबर सम्वाददाता

धनकुटा, १ माघ । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित नाम्जेमा माघे संक्रान्ति महोत्सव सुरु भएको छ । कृषि, पर्यटन र भौगोलिक संस्कृतिको सम्मान आर्थिक समृद्धी र विकास साँगुरीगढी नाम्जे थुम्कीको पहिचान भन्ने नारासहित तीन दिने महोत्सव सुरु भएको हो ।

Advertisement

धनकुटामै पहिलो पटक नाम्जेमा सुरु भएको माघे संक्रान्ति महोत्सवको प्रतिनिधिसभाका सदस्य राजेन्द्र राईले उद्घाटन गरे । साँगुरीगढी गाउँपालिका र स्थानीयस्तरमा सञ्चालित १३ संघसंस्थाको संयुक्त आयोजनामा सुरु भएको महोत्सवको पहिलो दिन स्थानीय मगर समुदायको हुर्रा नाच, राई जातिको साकेला नाच र याम्फू राईको ढोल नाच लगायत सांस्कृतिक कार्यक्रम गरियो । महोत्सवमा हरेक दिन साँस्कृतिक कार्यक्रम हुँनेछ ।

महोत्सवमा विभिन्न जातिका मौलिक परिकारका २४ वटा स्टल राखिएको मुल आयोजक समितिका अध्यक्ष अनिलकुमार राना मगरले जानकारी दिए । मगर समुदाय लगायत विभिन्न जातजातीको जातीय परिकार, अर्गानिक खानाका परिकार, हस्तकला सामाग्री विक्रि तथा प्रर्दशनका लागि राखिएको छ ।

स्थानीय संस्कृतिको संरक्षण गर्दै नाम्जेसहित वरपरका पर्यटकीय स्थलहरुको प्रचार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको आयोजक समिति सचिव अशोककुमार मगरले बताए । उनका अनुसार नाम्जेको आत्मा बस्ने घर, सूर्योदय बुद्ध विहार, नाम्जे थुम्की होमस्टे, सैलुङडाँडा, पाथीभरा देवीको मन्दिर, शंखेश्वर महादेव मन्दिर, नमस्ते झरना, ध्वजेडाँडा, ओख्रे भ्यु टावर, साँगुरीगढी आदिको प्रचारप्रसारमा महोत्सव फलदायी हुँने अपेक्षा लिईएको छ ।

मगर समुदायको बाहुल्यता रहेको नाम्जे अन्तर्राष्ट्रिय सञ्चार माध्यम सिएनएनले गरेको सर्वेक्षणमा घुम्न लायक विश्वका १२ उत्कृष्ट गन्तव्यमा परेको ठाउँ हो । उत्कृष्ट गन्तव्यमा परेपछि सो ठाउँमा पर्यटकको आकर्षण ह्वात्तै बढेको छ । नाम्जेमा ०६८ सालदेखि होमस्टे पनि सुरु भएको छ । अहिले २२ ओटा होमस्टे घर र ३० भन्दा बढी होटल तथा लज छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!