वीरगञ्ज, ३० पुस । दक्षिण एशियाकै पहिलो क्रस बोर्डर परियोजनाका रुपमा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत भारतबाट नेपालमा पेट्रोलियम पदार्थ वैशाखदेखि ल्याउने सुनिश्चित भएको छ ।

Advertisement

सो परियोजना भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म करीब ७० किलोमिटर लम्बाइको छ । तीमध्ये भारततर्फ मोतिहारीदेखि रक्सौलसम्म ३२ दशमलव २५ किलोमिटर र सीमावर्ती भारतीय शहर रक्सौल बजारदेखि बाराको अमलेखगञ्जसम्म ३७ दशमलव २५ किमी छ ।

परियोजनाअन्तर्गत पाइपबिछ्याउने काम द्रुतगतिमा भइरहेकाले वैशाखदेखि पाइपलाइन सञ्चालनमा आउने परियोजना कार्यालय सिमराले जनाएको छ ।

नेपालतर्फ ३७ दशमलव २५ किलोमिटर भू–भागमध्ये गण्डकदेखि परवानीपुरसम्म करीब एक किमी र पर्सा राष्ट्रिय निकुञ्जको नौ किमी गरी कुल १० किमी भू–भागमा मात्र पाइपलाइन ओछ्याउन बाँकी रहेको परियोजना कार्यालय सिमराका इञ्जिनीयर शरदप्रसाद पौडेलले बताउनुभयो ।

भारत विहारको राजधानी पटना हुँदै सिवान र मोतिहारीदेखि रक्सौलसम्म पाइपलाइन आउने भएकाले सो क्षेत्रमा करीब चार किमी पाइप ओछ्याउने काम बाँकी रहेको छ भने सीमावर्ती भारतको रक्सौलदेखि सिर्सिया नदीमा पाइप छिराइ वीरगञ्ज भन्सारको शङ्कराचार्य गेटसम्म ल्याउने काम भइरहेको बताइएको छ ।

नेपाल–भारत दुवै सरकारको प्राथमिकतामा रहेको सो उक्त परियोजना भारतीय आयल कर्पोरेशन (आइओसी) को दुई अर्ब भारतीय रुपैयाँभन्दा बढीको लागतमा निर्माण भइरहेको छ ।

परियोजनाले सन् २०१९ को फेब्रुअरीसम्म पाइप गाड्ने काम सम्पन्न गरी सक्ने लक्ष्य लिएको छ । जितपुर तथा परवानीपुरको केही भू–भागमा जमीनमुनि दुलो पारेर (ड्रिलिङ प्रविधिबाट) पाइप गाडिएको छ ।

यो प्रविधिबाट सडकको पैदलमार्ग (फुटपाथ) को ठीक तल जमीनमुनि आठदेखि १६ मिटरसम्म पाइप गाडिएको छ । पूर्व–पश्चिम राजमार्गको सडकखण्डमा पर्सा राष्ट्रिय निकुञ्ज पर्ने भएकाले त्यस भेगका करीब छ हजार ५०० ठूला तथा चार हजारजति साना रुख काट्नुपर्ने देखिन्छ ।

परियोजनाले शुरुमा भारतीय सीमावर्ती बजार रक्सौलबाट पाइप ल्याउने भनिए पनि अहिले विस्तार भएर मोतिहारीसम्म पुगेकाले काम बढ्न गएको हो । भारतीय आयल कर्पोरेशनले मोतिहारी डिपोलाई पूर्णरुपले बनाई नसकिएकाले केहि ढिलो भएको प्राविधिकको भनाइ छ ।

पहिलो चरणमा एक सय ९० किलोलिटर प्रतिघण्टाका दरले विहारको राजधानी पटनाबाट डिजल आउनेछन् । तर मोतिहारी डिपो सञ्चालनमा आएपछि प्रतिघण्टा २०० किलोलिटर डिजल अमलेखगञ्ज डिपोमा भण्डारण हुनेछन् ।

भारतीय पक्षले सन २०१९ सम्म मोतिहारी डिपोको निर्माण सम्पन्न गरी सक्ने लक्ष्य लिएको छ ।

मल्टी प्रोजेक्ट पाइपलाइन भएकाले यसबाट डिजल, पेट्रोल र मटितेलसमेत आयात हुनेछन् । परियोजना सञ्चालनमा आएपछि शुरुमा डिजेलमात्र आयात गरिने छन् । मागको करीब ६० प्रतिशत डिजल पाइपबाट नेपाल भित्रिने नेपाल आयल निगमले जनाएको छ ।

मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएपछि नेपाललाई निकै आर्थिक लाभ हुने यहाँका व्यापारीको भनाइ छ । यसबाट वीरगञ्ज नाका तथा भन्सार क्षेत्रमा हुने लामो जाम र भीड अन्त्य हुने तथा वीरगञ्ज पथलैया सडक खण्डमा हुने ट्याङ्करको चाप पनि घटेर जाने विश्वास लिइएको छ ।

नेपालमा आयात हुने कुल पेट्रोलियम पदार्थमध्ये ५० प्रतिशत हिस्सा वीरगञ्ज नाकाबाट भित्रिने भएकाले पनि पाइपलाइन सञ्चालनमा आएपछि सहज हुने विश्वास लिएको छ ।

नेपाल आयल निगमले अहिले भारतको बैरगनिया र रक्सौलस्थित भारतीय आयल कर्पोरेशनको डिपोबाट पेट्रोलियम पदार्थ पेट्रोल, डिजल, मट्टितेल, हाइस्पीड डिजल र हवाई इन्धन ट्याङ्करमार्फत अमलेखगञ्ज डिपोमा आयात गर्दै आएको छ ।

मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएपछि भारतको डिपोबाट प्रतिघण्टा दुई लाख लिटर इन्धन अमलेखगञ्ज डिपोमा ल्याउने लक्ष्य नेपाल आयल निगमले लिएको छ । सरकारले मोतिहारी अमलेखगञ्ज पाइपलाइनलाई भविष्यमा विस्तार गरी चितवनसम्म लैजाने लक्ष्य लिएको छ ।

करीब १४ वर्ष अगाडि सन् २००४ मा नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच भएको सममmदारीअनुसार पाइपलाइनमार्फत नेपालमा सिधै पेट्रोलियम पदार्थ ल्याउने उद्देश्यसहित परियोजनाले गति लिए पनि खासै प्रगति भने देखिएको थिएन ।

पाँच वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक नेपाल भ्रमण गर्दा तत्कालीन संविधानसभामा पाइपलाइन परियोजनालाई अघि बढाउने भनेपछि यो परियोजनाले गति लिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गत चैतमा भएको भारत भ्रमणका क्रममा नयाँ दिल्लीको हैदराबाद हाउसबाट समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री ओलीले संयुक्तरुपमा शिलान्यास गरेपछि सो परियोजनाले गति लिएको हो ।

अहिले नेपालतर्फ वीरगञ्ज भन्सारको शङ्कराचार्य गेट नजिक पाइपलाइन निर्माणका लागि खाल्डो खनेर जमीनमुनि पाइप बिछ्याउने काम भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!