रत्ननगर (चितवन) । दक्षिण चितवनको माडीस्थित रामराज्यपुरका दुई बालिकाको शव छ दिनपछि आज उठेको छ । घटनाको विषयमा अनुसन्धान गरी दोषी पाइए कारबाही गर्ने प्रहरीको प्रतिबद्धतापछि आज परिवारले शव उठाएर दाहसंस्कार गरेका हुन् ।

Advertisement

मृतक दीपिकाकी आमा मायाँ सुनार र दीपशिलाका बुबा दिनेश दर्जीले शव बुझेर आजै देवघाटमा अन्तिम संस्कार गरेको राजनीतिक दल महिला सञ्जाल, चितवनकी अध्यक्ष सङ्गीता भट्टराईले जानकारी दिनुभयो ।

शनिबार साथीहरुसँग वनभोज खान गएका माडी नगरपालिका–६ रामराज्यपुरका १२ वर्षीय दीपशिला परियार र ११ वर्षीया दीपिका सुनारलाई पोखरीमा डुबेको अवस्थामा फेला पारिएको थियो । उनीहरुको उपचारका क्रममा सोही दिन साँझ मृत्यु भएको थियो ।

उनीहरुको शव विगत छ दिनदेखि भरतपुर अस्पतालमा थियो भने स्थानीयवासी सङ्घर्ष समिति नै बनाएर आन्दोलित थिए ।

पीडित परिवारले डुबेर हैन कसैले मारेको हो भन्दै दोषीलाई पत्ता लगाई कारबाहीको माग गर्दै आएका छन् ।

घटनामा संलग्न रहेको आरोपमा पाँचजनाविरुद्ध किटानी जाहेरी परेको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । किटानी परेकामा केही वनभोजमा सहभागी भएकाहरु छन् भने केही बाहिरका पनि छन् । उनीहरुको विषयमा अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभएको छ । रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!