रत्ननगर, २६ पुस  । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा आउने भक्तजन स्नान गरेर मात्रै फर्कनु गर्नुपर्ने बाध्यता छ । देवघाटमा लाग्ने मेला तथा महोत्सवमा भक्तजनको चाप वृद्धि हुँदै गए पनि उचित बासस्थानको व्यवस्था नहुँदा स्वदेशी तथा विदेशी पर्यटक स्नान गरेर मात्रै फर्किने गरेका हुन् ।

Advertisement

नयाँ वर्ष, बोलबम मेला, जनैपूर्णिमा, ठूलो एकादशी, बाला चतुर्दशी, शिवरात्रिलगायतमा यहाँ मेला लाग्छ । माघे सङ्क्रान्तिका दिन सारा देवीदेवता देवघाट क्षेत्रमा आउने विश्वास गरिन्छ । सो दिन त्यहाँ स्नान गरेमा मोक्ष प्राप्ति हुने धार्मिक विश्वास छ । यहाँ भारतीय पर्यटकहरु धेरै आउने बताइन्छ ।

विसं २०५० मा स्थापित देवघाट क्षेत्र विकास समितिले यसको पूर्वाधार विकासका निम्ति गुरुयोजना निर्माण गरे पनि बजेट अभावमा कारण यस क्षेत्रलाई व्यवस्थित गर्न सकिएको छैन । त्यहाँ खासै होटेल, रेष्टुरेण्ट, घरबास आदि छैनन् । यसले गर्दा आन्तरिक तथा बाह्य पर्यटकलाई बास बस्न नारायणघाट नै पुग्नुपर्ने बाध्यता छ ।

चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा प्रत्येक वर्ष माघे सङ्क्रान्ति मेला भर्न मात्रै पाँच लाख बढी धार्मिक पर्यटक आउँछन् । मेलामा आउने १० प्रतिशत पर्यटक आफन्तका घर, आश्रम, धर्मशाला र कल्पबास क्षेत्रमा बस्ने गरेका छन् भने ९० प्रतिशत हिँडेर आउने र बाटाबाटै हिँडेर फर्किने गरेका छन् ।

समितिका अध्यक्ष शिवराज पौडेलले भक्तजन बस्ने भवन निर्माणका विषयमा समिति गम्भीर भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भक्तजनको बसोबासको निम्ति अतिथि गृह, होमस्टे र शाकाहारी भोजनालय निर्माण गर्न निजी क्षेत्रलाई आह्वान गर्नुपर्छ । धेरै भक्तजन अट्ने धर्मशाला बनाउन दाताहरुलाई आग्रह पनि गरेका छौँ ।”

सुगम तीर्थस्थल देवघाटको भौतिक पूर्वधार विकास वर्षाैँदेखि नहुँदा यो समस्या जहाँको त्यहीँ छ । सरकारले ल्याउने नीति तथा कार्यक्रममा देवघाटलाई समावेश गर्न नसकेको स्थानीयवासीको गुनासो छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!