दमक, २६ पुस । झापा, दमक नगरपालिका–४ का निर्मल दाहालले कागजबाट कलम उत्पादन गर्न थाल्नुभएको छ । उहाँले घरमै सगरमाथा कलम उद्योग खोलेर विगत छ महीनादेखि व्यावसायिक उत्पादन शुरु गर्नुभएको हो । पुराना पत्रपत्रिका सङ्कलन गरी त्यसबाट उत्पादित सो कलम उद्योगले विस्तारै बजार ओगट्न थालेको छ ।

Advertisement

तीन वर्षसम्म खाडीमुलुकमा काम गरेर फर्केपछि दाहालले विदेशको अनुभवलाई स्वदेशमा नै आयआर्जनका रुपमा सो उद्योग सञ्चालनमा ल्याउनुभएको हो । कुवेतको एउटा बैंकको स्टेश्नरी विगभामा काम गर्ने क्रममा त्यहाँ प्रयोग हुने अधिकांश कलम कागजबाट बनेको देखेपछि आफ्नै ठाउँमा पनि उहाँले त्यस्तो प्रविधि भित्र्याउनुभएको हो ।

“यो प्रविधिबाट उत्पादित कलम वातावरणमैत्री पनि छ” ३४ वर्षीय दाहालले भन्नुभयो, “ यसरी कलम उत्पादन हुँदै आएको सम्भवतः यो देशकै पहिलो उद्योग हो ।” कागजबाट कलम बन्ने तरिका इन्टरनेटमार्फत सिकेको र प्रविधिको खोजी इन्टरनेटमार्फत नै गरेको दाहाल बताउनुहुन्छ ।

अहिले प्रयोगमा आइरहेको काठको कलमले वातावरणमा असर गरिरहेको थाहा पाएपछि आफूमा कागजको कलम बनाउने इच्छा बढेको उहाँले बताउनुभयो । मेशिन खरीद गरेर यस्तो प्रविधिको उद्योग स्थापना गरिएको हो ।

अहिले नेपालमा वार्षिक करोडौँ रुपैयाँको कलम भारत तथा अन्य मुलुकबाट आयात हुन्छ । विदेशबाट ठूलो परिमाणमा आयात हुने कलमलाई प्रतिस्थापन गर्ने लक्ष्य राखेर यस्तो उद्योग स्थापना गरिएको उद्योग सञ्चालक दाहालको दाबी छ ।

शुरुआती क्रममा उद्योगमा रु ३५ लाखको निजी लगानी गर्नुभएका उहाँले दैनिक एक लाख ५० हजार कलम उत्पादन गर्न सक्ने क्षमता भए पनि हाल दैनिक तीन हजार कलम उत्पादन गर्नुभएको छ । मागबमोजिम मात्र कलम उत्पादन भइरहेको छ ।

उपभोक्ताले नेपाली उत्पादनको महत्व नबुझी दिँदा बजार पाउन समस्या आएको उहाँको गुनासो छ । भन्नुहुन्छ, “उपभोक्ताले स्थानीय उत्पादनलाई बजारीकरणमा सघाउ गर्न खाँचो छ ।” उद्योगमा चार जनाले रोजगारी पाएका छन् । उहाँले भन्नुभयो, “उत्पादन क्षमताअनुसार बजारमा कलमको मागको अभाव छ ।”

युवा व्यवसायी दाहालको यो वातावरणमैत्री कलम उत्पादनलाई टेवा दिनुपर्ने खाँचो रहेको दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीको भनाइ छ । उपप्रमुख अधिकारीले भन्नुभयो, “आफ्नै ठाउँमा युवालाई स्वरोजगार बनाउन विभिन्न योजना बनाइरहेको छौँ, यस्तो स्वरोजगार नीतिमा नगरपालिका गम्भीर छ ।”

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!