लमही, २५ पुस । रोजगारीको खोजीमा युवा विदेश पलायन हुने क्रम रोकिएको छैन् । तर स्वदेश फर्केकाले विदेशमा जत्तिकै परिश्रम गरे मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् दाङका हरि रोकाले ।

Advertisement

तुलसीपुर १९ सक्रामका रोकाले विदेशबाट फर्केपछि शुरु गरेको व्यवसायिक भैँसीपालनबाट विदेशमा भन्दा चारगुणा बढी आम्दानी गर्दै आउनुभएको छ । “विदेश हुँदा मासिक दशहजार कमाइ हुन्थ्यो”, उहाँले भन्नुभयो, “तर अहिले आफै व्यावसायिक भैँसीपालन गरेर मासिक रु ५० हजार हाराहारी आम्दानी गर्छु ।”

मलेसिया पाँच वर्ष बसेर फर्केपछि दुई भैँसीबाट व्यवसाय शुरु गर्नुभएका रोकाले अहिले २० भैँसी पाल्नुभएको छ । शुभलक्ष्मी पशुपालन फर्ममा मुर्रा क्रस र एउटा होलस्टेन गाई छ जसमध्ये गाई र चार भैँसीले दूध दिन्छन् ।

एउटा भैसीले कम्तिमा पाँच लिटर दूध दिन्छ । उक्त दूध डेरीमा बेच्ने गर्नुभएको छ । दश लाख लगानीमा २०७१ साल देखि उहाँको व्यावसायिक भैँसीपालन शुरु भएको हो । थप १० भैँसी थप्ने लक्ष्य छ । व्यवसाय सञ्चालन गर्न उहाँले वाणिज्य बैंकबाट दश लाख ऋण लिनुभएको छ ।

तुलसीपुर उपमहानगरपालिकाबाट ४० लिटरको दूध बोक्ने क्यान, ढुवानी सेवालगायत करीब दुई लाख ५० हजार सहयोग प्राप्त गर्नु भएको छ । भैँसीलाई दाना र घाँस खुवाउने गरिएको छ । भैँसीबाट उत्पादन भएको गोबरबाट रोकाले गोबर ग्यास निकाल्ने तयारी गर्नुभएको छ ।

भैँसीको गोबर भने स्थानीय किसानलाई बिक्री गर्दै आएको रोकाले बताउनुभयो । “आफूले व्यवसाय सञ्चालन गरे आफू अनुकूल चल्न सकिन्छ, तर अर्काको देशमा काम गर्न गए बिरामी भए पनि काममा खटिनुपर्छ”, उहाँको भनाइ थियो ।

घरमै भैँसी पालेर दैनिक दूध, दही खान पाइने र आम्दानी पनि राम्रो हुने भन्दै यो पेशाबाट सन्तुष्ट भएको उहाँले बताउनुभयो । उहाँका अनुसार गाईको एकलाख र अन्य भैँसीको २५ हजारदेखि माथिको बीमा गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!