काठमाडौँ, २५ पुस । प्रतिनिधिसभाको बैठकले ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ ।

Advertisement

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रतिनिधिसभाको आजको बैठकमा सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
मन्त्री खनालले सांसदका जिज्ञासाको जवाफ दिँदै विधेयकमा विषादी व्यवस्थापनका लागि एकद्वार प्रणालीको व्यवस्था गरिएको बताउनुभयो ।

प्रस्तावमाथि नवराज सिलवाल, सञ्जयकुमार गौतम, नारायणप्रसाद खतिवडाले जिज्ञासा राख्नुका साथै थप गर्नुपर्ने व्यवस्थाका बारेमा सुझाव दिनुभएको थियो ।

बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५’ पेश गर्नुभएको थियो ।

‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ प्रस्तुत गर्नुभएको थियो ।

साथै बैठकले कानूनमन्त्री ढकालले प्रस्तुत गर्नुभएको ‘प्रशासकीय अदालत विधेयक, २०७५’ र ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको थियो ।

बैठकमा सभामुख कृष्णबहादुर महराले हाल पुर्पक्षका लागि थुनामा रहनुभएका कैलालीको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद रेशमलाल चौधरीलाई यही पुस १९ गते शपथ गराएको र शपथपछि पुनःथुनामा रहेको जानकारी गराउनुभयो ।

साथै सभामुख महराले नियमानुसार चौधरीले हाल सांसदको कुनै पनि कार्य गर्न तथा सेवा सुविधा नपाउने बारेमा सदनलाई स्पष्ट पार्नुभयो । प्रतिनिधिसभाको अर्काे बैठक यही पुस २९ गते दिउँसो १२ बजे बस्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!