कास्की, २४ पुस । पोखरामा आधुनिक र अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशाला निर्माणको लागि जमीन नापजाँच सर्भे  को काम शुरु भएको छ । पोखरा रङ्गशालाभित्र फुटबल मैदानसहितको स्टेडियम निर्माण गर्न राष्ट्रिय खेलकूद परिषद् र एमए कन्स्ट्रक्सन तथा भारतीय ग्रेट स्र्पोट्स इन्फ्राएमए जिएसआई जेभीबीच गतहप्ता सम्झौताभएपछि निर्माण कम्पनीका प्राविधिकले जमीनको स्थलगत अध्ययन शुरु गरेका छन् ।

Advertisement

निर्माण कम्पनीले आजबाट जमीन नापजाँच सर्भेको काम शुरु गरेको एमएजिएसआई कन्ट्रक्सन जेभीका परियोजना म्यानेजर हरिबाबु न्यौपानले बताउनुभयो । गतवर्ष मङ्सिरमा नयाँ फुटबल स्टेडियम बनाउको लागि पोखरा रङ्गशालाभित्रको पुरानो प्यारापिट भत्काएको १३ महीनापछि नयाँ फुटबल स्टेडियमको काम शुरु भएको हो ।

नेपाली र भारतीय गरी छजना प्राविधिकको टोलीले स्थलगत अध्ययनको काम शुरु गरेको न्यौपानेले बताउनुभयो । ‘‘स्टेडियम डिजाइनको पहिलो चरणको काम सर्भे आजबाट शुरु भयो । यसलाई हामी एक साताभित्र पूरा गर्दछौँ’’, न्यौपानेले भन्नुभयो ।

रु एक अर्ब २८ करोड २० लाख लागतमा छ महिनाभित्रमा निर्माण सम्पन्न हुने स्टेडियममा साधारण १६ हजार ५०० तथा १२५ विशिष्ट र २५ क्षमताको अति विशिष्ट प्याराफिट निर्माण गरिने भएको छ । यसका साथै फुटबल मैदान, चेञ्जिङ रुम, एथलेटिक्स ट्र्याक तथा मिडिया सेन्टरलगायतका पूर्वाधार निर्माण गरिने राष्ट्रिय खेलकूद परिषद्का निर्माण शाखा प्रमुख अरुण उपाध्यायले बताउनुभयो ।

स्टेडियम बनाउनको लागि अर्थ मन्त्रालयले डेढ महीनाअघि मात्रै बजेट सुनिश्चितता गरेपछि बोलपत्र आह्वान प्रक्रिया टङ्गिएर सम्झौता भएको उपाध्यायको भनाइ छ । स्टेडियम फुटबलको सर्वोच्च निकाय फिफाले निर्दिष्ट गरेबमोजिम हुने बताइन्छ । फुटबल मैदान फिफाको मापदण्ड अनुसार १०५ मिटर लम्बाइ र ६८ मिटरको चौडाइको हुने उल्लेख छ ।

सर्भे सम्पन्न गरेर तीन हप्ताभित्रमा डिजाइन तयार गरी अर्को महीनाबाट स्टेडियम निर्माणको काम शुरु गर्ने ग्रेट स्र्पोट्सका प्रमुख परदेशीले बताउनुभयो । हिजो साँझमात्र मात्र हाम्रो प्राविधिक टिम यहाँ आइपुग्यो । आजबाटै जमीनको सर्भे शुरु गरेका छौँ ।

एक्काइस दिनभित्र डिजाइन पूरा गरेर निर्माणको काम शुरु गछौं उहाँले भन्नुभयो । कम्पनीले फुटबल रङ्गशालाको प्रारम्भिक डिजाइन तयार गरिसकेको र अर्को महीनाबाट काम शुरु गरिने न्यौपाने बताउनुहुन्छ ।

प्यारापिटका लागि आवश्यक कुर्सी फ्रान्सबाट आयात गरिने र यहाँ जोड्ने काम मात्र हुने उहाँले बताउनुभयो । भएको रङ्गशालाको प्यारापिट पनि भत्काइएको र लामो समयसम्म नयाँ स्टेडियम बन्ने तयारी नहुँदा यहाँका खेलकूदप्रेमीले चिन्ता व्यक्त गर्दै आएका थिए ।

राष्ट्रिय खेलकूद परिषद्ले १३औँ दक्षिण एशियाली खेलकूद साग को महिला फुटबल पोखरामा खेलाउने बताए पनि स्टेडियमको अभावमा सो खेल यहाँ हुनेनहुनेमा अन्योल रहेकामा अब भने अन्योल हटेको बताइन्छ ।

पश्चिमाञ्चल खेलकूद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले ढिलै भए पनि फुटबल स्टेडियम बनाउने सम्झौता हुनु सकारात्मक भएको र समयमै निर्माण पूरा गर्न हरतरहले सहयोग गर्ने बताउनुभयो ।

विसं २०३९ मा निर्माण गरिएको फुटबल स्टेडियमको विशिष्ट कक्ष २०७२ सालको विनाशकारी भूकम्पबाट क्षति पुगेको थियो । गतवर्ष नयाँ बनाउन सम्पूर्ण पुरानो संरचना भत्काइए पनि नयाँ नबन्दा खेलकूद गतिविधिमा असर पुगेको खेलकर्मीको भनाइ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!