डोटी, २२ पुस २२ ।  गाउँघरमा काम नपाउने भएपछि जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश युवा अहिले रोजगारीका लागि छिमेकी मुलुक भारततिर जान थालेका छन् ।

Advertisement

पारिवारिक भेटघाट तथा दशैँ–तिहार मनाउन भारतबाट रोजगारी गरेर गाउँ फर्केका जिल्लाका अधिकांश युवा यतिबेला हरेक दिन दर्जनौँको सङ्ख्यामा छिमेकी मुलुक भारतलगायत नेपालका विभिन्न ठाउँमा रोजगारीका लागि जान थालेका छन् ।

युवा रोजगारीको सिलसिलामा घरपरिवार छाडेर अन्य मुलुक गएपछि अहिले यहाँका अधिकांश गाउँमा वृद्धवृद्धा र स–साना केटाकेटी तथा महिला मात्रै रहेको केआई सिंह गाउँपालिका–१ जमलकटियाका स्थानीयवासी चेतराज भट्टले बताउनुभयो ।

कामका लागि छिमेकी मुलुक भारत जानेमा अधिकांश पढेलेखेका युवा पनि रहेका स्थानीयवासी बताउँछन् । रोजगारी अभावले भारततिर जानुपर्ने बाध्यता रहेको स्थानीयवासी मणिराम विकले गुनासो गर्नुभयो । गाउँपालिकाले जनतालाई सडक निर्माणमा अवसर नदिएर सडक खन्न करोडौँ रकम डोजर प्रयोगमा खर्च गरेपछि आफूहरु खाली बस्नुभन्दा रोजगारीका लागि भारत जानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

युवाहरु भारत पलायन भएपछि गाउँमा रहेका वृद्धवृद्धा र केटाकेटीलाई स्याहार–सुसार गर्ने मान्छे पनि नभएको बडिकेदार गाउँपालिका–१ का स्थानीयवासी बमबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “युवाहरु भारत पलायन भए, गाउँमा बूढापाकालाई केही भइहाले पनि अस्पतालसम्म पुर्याउने मान्छे नै छैनन् ।” यहाँका स्थानीयवासी कामका लागि भारतको पञ्जाब, बरेली, सिम्लापहाड, लुधियाना, हिमाञ्चल प्रदेश, मुम्बइ, कोलकत्ता, दिल्लीलगायतका ठाउँमा जाने गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!