संगालोखबर सम्वाददाता

विराटनगर, १६ पुस । यस वर्षको ओम इन्द्रमोहन स्मृति पुरस्कारबाट साहित्यकार विश्वविमोहन श्रेष्ठ, पत्रकार रमेशचन्द्र अधिकारी र गायिका देविका वन्दना पुरस्कृत भएका छन् ।

Advertisement

इन्द्रमोहन स्मृति गुठी धनकुटाले विराटनगरमा आयोजना गरेको कार्यक्रममा दुई दशक बढि समय पत्रकारिता गरेका अधिकारी, चार दशक बढि साहित्य साधना गरेका श्रेष्ठ र तीन दशक गीतसंगीत क्षेत्रमा निरन्तरता दिएकी वन्दनालाई पुरस्कृत गरिएको संस्थाका अध्यक्ष विवश पोखरेलले जानकारी दिए ।

गुठीका संरक्षकसमेत रहेकी डा. विमला श्रेष्ठको नामबाट पहिलो पटक उक्त साहित्यिक पुरस्कार प्रदान गरिएको हो । २०५० सालमा रेकर्ड गरिएको ‘यस्तै रहेछ यहाको चलन….’ लगायत विभिन्न गीतबाट ख्याति कमाएकी बन्दनाले गीत संगीतका क्षेत्रमा योगदान पुर्याउदै आएकी छिन् । पत्रकार अधिकारीले दुई दशक बढि अवधि पत्रकारिता क्षेत्रमा निरन्तर योगदान पुर्याउदै आएकाले पुरस्कृत गरिएको संस्थाका अध्यक्ष पोखरेलले बताए ।

पुरस्कार वितरण कार्यक्रममा प्राज्ञ दधिराज सुवेदी, प्राडा टंकप्रसाद न्यौपाने, महानन्द पोखरेल, मुकुन्द प्रयास, केजी सुब्बा लगायतले पुरस्कृत व्यक्तित्वबारे जानकारी गराएका थिए । डा.विमला श्रेष्ठ सभाहलमा आयोजित कार्यक्रममा सम्मानपत्रसहित जनहि १५ हजार ५ सय ५५ नगद सहित पुरस्कृत गरिएको थियो ।

सो अवसरमा गायिका वन्दनाले आफ्ना लोकप्रिय गीत प्रस्तुत गरेकी थिइन् भने, कवि श्रेष्ठ र अधिकारीले कविता सुनाएका थिए । यस अघि गीत संगीततर्फको पुरस्कारबाट फत्तेमान राजभण्डारी, गणेश रसिक, कुवेर राई, यादव खरेल, दिप श्रेष्ठ लगायत पुरस्कृत भइसकेका छन् । गुठीले यस अघि इन्द्रमोहन स्मृति पत्रकारिता पुरस्कार लीलाबल्लभ घिमिरे र अञ्जना ताम्लीलाई प्रदान गरेको थियो ।

वि.सं.२०६२ सालमा कलाकार तथा समाजसेवी ओमकार श्रेष्ठले आफ्ना स्वर्गीय बाबुआमाको नाममा गुठीको स्थापना गरेका थिए । गुठीका संस्थापक श्रेष्ठको भने दुई वर्ष अघि निधन भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!