काठमाडौँ, १६ मङ्सिर । भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च, कोलकाताको आयोजनामा कोलकातामा यही मङ्सिर २२–२३ गते ‘तृतीय अन्तर्राष्ट्रिय साहित्य सम्मेलन’ हुने भएको छ ।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावास, कोलकातास्थित नेपाली महावाणिज्यदूतावास, बिपी कोइराला फाउण्डेशन नयाँ दिल्ली, नेपाली व्यावसायिक समिति कोलकाता, ओसनिक एक्सप्रेस एलएलपी, क्लालकोक्स सिण्डिकेट प्रालि, जुपिटर कार्गाे र संयुक्त नेपाली केन्द्रीय सेवा सङ्घको सहयोगमा हुने सम्मेलनमा नेपाल, भारत, भुटान र म्यान्माका नेपाली साहित्यकारको सहभागिता रहने कार्यक्रम संयोजक नारायणप्रसाद होमागाईँले जानकारी दिनुभयो ।

Advertisement

भारतीय भाषा परिषद् भवनमा हुने सम्मेलनमा डा अमर गिरीले ‘नेपाली साहित्यको प्रवृत्ति’, डा रामजी तिमिल्सिनाले ‘डायस्पोरा नेपाली साहित्य’ र प्रा टेकबहादुर क्षेत्रीले ‘भारतमा नेपाली साहित्य’ विषयमा कार्यपत्र प्रस्तुत भई छलफल गरिने छ । ‘वर्तमान विश्वमा भारतीय क्षेत्रीय भाषाहरु हराउँदै गएको अवस्था’, ‘युवा र प्रौढ पुस्ताबीचको खाडल पुर्दै’ र ‘नयाँ पुस्तामा नयाँ विद्युतीय सामग्रीको प्रयोगबाट पर्ने असर’ शीर्षकमा पनि छलफल हुनेछ ।

सो अवसरमा वसन्त चौधरीद्वारा लिखित ‘वसन्त’ काव्यसङ्ग्रह(बङ्गाली भाषा) र टीकारामगोपाल भित्रीकोटीद्वारा लिखित ‘लाज’ कविता सङ्ग्रहको विमोचन गरिनाका साथै तुल्सी प्रभासद्वारा सांस्कृतिक वृत्तचित्र प्रस्तुत गरिनेछ ।

नेपालबाट नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, हरिहर शर्मा, राजेन्द्र शलभ, रमण घिमिरे, राधेश्याम लेकाली, दिव्य गिरी, ऋषभ घिमिरे, धर्मराज बराल, सुभद्रा भट्टराई, गोकुल अधिकारीलगायत सहभागी हुने बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!