- गोमा ढुंगाना/संगालोखबर

धनकुटा। राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार धनकुटाका सातवटै स्थानीय तहको उम्मेदवार घोषणा गरेको छ । धनकुटा सदरमुकाममा कार्यक्रम गरी राप्रपाले जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकाका उम्मेदवार घोषणा गरेको हो ।

Advertisement

राप्रपाले धनकुटा नगरको मेयरमा जिल्ला उपाध्यक्ष बालानन्द भुर्तेललाई उम्मेदवार बनाएको छ ।

राप्रपाको तर्फबाट धनकुटा नगरका मेयर उम्मेदवार बालानन्द भुर्तेल । तस्वीर-संगालोखबर

त्यस्तै उप–मेयरमा ताश कुमारी तामाङ्गलाई राप्रपाले उम्मेदवार घोषणा गरेको छ ।

त्यस्तैगरी पाख्रीवास नगरको मेयरमा २ नम्बर क्षेत्रीय सभापति श्याम गुरुङ्गलाई राप्रपाले उम्मेदवारको रुपमा अघि सारेको छ । पाख्रीवासको उप–मेयरमा पार्टीका पूर्व केन्द्रिय महिला सदस्य पवित्रा श्रेष्ठलाई राप्रपाले उम्मेदवार बनाएको छ ।

राप्रपाको तर्फबाट पाख्रीवास नगरका मेयर उम्मेदवार श्याम गुरुङ्ग । तस्वीर-संगालोखबर

महालक्ष्मीमा कांग्रेस–राप्रपा तालमेल

यता महालक्ष्मी नगरपालिकामा भने राप्रपाले काग्रेससँग चुनावी तालमेल गरेर उम्मेदवार उठाएको छ । महालक्ष्मीको मेयरमा कांग्रेसका उम्मेदवार अग्नी प्रसाद पौडेललाई राप्रपाले सघाउँने भएको छ ।

त्यस्तै संयुक्त प्यानलबाट उप–मेयरमा राप्रपाका तर्फबाट महेन्द्र निरौलालाई उम्मेदवार घोषणा गरिएको छ । यता खाल्सा छिन्ताङ्ग सहीदभूमी गाउँपालिकाको अध्यक्षमा गुर्ज बहादुर राई र उपाध्यक्षमा अनिता राईलाई राप्रपाले उम्मेदवार बनाएको छ ।

संयुक्त प्यानलबाट मेयर उम्मेदवार पौडेल (वाँया) र उप–मेयर उम्मेदवार निरौला (दाँया) ।

त्यस्तैगरी १ नम्बर क्षेत्रीय सभापति धर्मध्वज राईलाई राप्रपाले साँघुरीगढी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाएको छ । साँघुरीगढीमा उपाध्यक्षका उम्मेदवारको टुंगो लाग्न वाँकी छ । त्यस्तै चौबिसे गाउँपालिकाको अध्यक्षमा गजेन्द्र बस्नेत र उपाध्यक्षमा चक्रबहादुर बुढाथोकी राप्रपाको तर्फबाट उम्मेदवार बनेका छन ।

छथरमा कांग्रेस–राप्रपा तालमेल अन्यौल

यता छथर जोरपाटी गाउँपालिकामा काग्रेससँग चुनावी तालमेल गरेर उम्मेदवार घोषणा गरिएको राप्रपाले जनाएपनि यो बिषयमा अन्यौलता देखिएको छ ।

संयुक्त प्यानलबाट राप्रपाका पूर्व जिल्ला कमिटि सदस्य माधव बहादुर भट्टराईलाई अध्यक्षको उम्मेदवार बनाईएको राप्रपाका जिल्ला अध्यक्ष कुमार बहादुर थापाले जानकारी दिए । उनका अनुसार उपाध्यक्षमा काग्रेसका तर्फबाट उम्मेदवारको नाम टुंगो लाग्न वाँकी छ ।

तर, काग्रेस जिल्ला सचिव बिजयसन्तोषी राईले भने राप्रपासँगको तालमेलको बिषयमा सहमति नभएको दावी गरेका छन । कांग्रेसले अध्यक्ष र उपाध्यक्षसहित सवै पदमा उम्मेदवार उठाउँने  निर्णय गरेको राईले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!