काठमाडौँ, १५ कात्तिक । इन्टरनेट प्रविधिसँग सम्बन्धीत बहुपक्षीय सरोकारवालाको दुईदिने राष्ट्रिय फोरम ‘नेपाल आइजिएफ २०१८’ शुक्रबारदेखि काठमाडौँमा हुने भएको छ ।
सरकार, निजी क्षेत्र, नागरिक समाज र आम इन्टरनेट प्रयोगकर्ता सहभागी हुने फोरमका लागि यो वर्ष ‘सहज पहुँच, सुलभ र सुरक्षित इन्टरनेट’ नारा तय गरिएको छ । फोरममा १८ वटा विधागत प्रस्तुति र छलफल तय भएको आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हरेक वर्ष आयोजना हुने यस्तो फोरमको यस वर्ष मुख्य आयोजक इन्टरनेट सोसाइटी नेपाल र सह आयोजकमा इन्टरनेट गभरनेन्स इन्स्टिच्युट छनोट भएका छन् ।
फोरममा विद्युतीय अर्थतन्त्र, साइबर सेक्युरिटी, पूर्वाधार विकास, फेक न्यूज र सामाजिक सञ्जाल जस्ता विषयमा सम्बन्धित क्षेत्रका विज्ञसँग छलफल हुनेछ । यसैगरी इन्टरनेट सेवाको गुणस्तर विस्तार, इन्टरनेटमा सूचना अभिव्यक्ति स्वतन्त्रता, समावेशीकरणका साथै नेपालमा स्मार्ट सिटीको प्रवद्र्धन र सम्भावनाका विषयमा पनि समूहगत छलफल र निचोड निकालिने इन्टरनेट सोसाइटी नेपालका अध्यक्ष सन्तोषबाबु सिग्देलले जानकारी दिनुभयो ।
फोरममा फेसबुक, अन्तर्राष्ट्रिय इन्टरनेट गभरनेन्स् फोरम, आइक्यान, एपिनिकजस्ता अन्तर्राष्ट्रिय प्रविधि संस्थाकोसमेत सहभागिता रहने जनाइएको छ ।