काठमाडाैँ । ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तिम मैत्रीपूर्ण खेलमा आज हार व्यहाेरेकाे छ ।

बुधबार साँझ भएको खेलमा नेपाल बेइजिङ फोनिक्स महिला टोलीसँग २–१ गाेलकाे झिनाे ले पराजित भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपालका लागि सावित्रा भण्डारीले एक गोल गरेपनि टोलीलाई जित दिलाउन सकिनन् ।

Advertisement

बेइजिङ फोनिक्ससँग नेपालको यो लगातार दोस्रो हार हो । सोमबार भएको पहिलो खेलमा नेपाल फोनिक्ससँगै ४–१ गोलले पराजित भएको थियो । नेपालले मङ्गलबारकाे दोस्रो मैत्रीपूर्ण खेलमा भने बेइजिङ स्पोर्टस युनिभर्सिटीलाई ३–० ले हराएको थियो ।

अन्तिम मैत्रीपूर्ण खेलसँगै अब नेपाली टोली शुक्रबार ओलम्पिक छनोट खेल्न म्यान्मार जाने एन्फाले जनाएको छ । तीन मैत्रीपूर्ण खेलका लागि नेपाली टोली गत शुक्रबार चीन गएको हो ।

नेपाली टोलीमा २२ खेलाडी, दुई प्रशिक्षक र दुई अफिसियल छन् । प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र, टोली नेतामा दीर्घबहादुर केसी र व्यवस्थापकमा कमला हीराचन थकाली रहेका छन् । ओलम्पिकको एशियन छनोटअन्तर्गत नेपाल रहेको समूहमा भारत, म्यान्मा र बङ्गलादेश छन् ।

नेपालले कात्तिक २२ गते भारतसँग, २५ गते म्यान्मा र २७ गते बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीमा गोलकिपर एन्जिला तुम्बोप्पो सुब्बा, रुपा रानामगर र लीला लाम्गाडे, डिफेन्डरमा गीता राना, रञ्जना दर्जी, हीराकुमारी भुजेल, मनमाया लिम्बू, अमृता जैसी, मेनुका गिरी, कविता धिमाल र पुनम मगर, मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, इन्दिरा राई, विमला चौधरी, दीपा अधिकारी, अनिता बस्नेत, दीपा न्यौपाने तथा स्ट्राइकरमा अनिता केसी, सावित्रा भण्डारी, निरु थापा र शर्मिला थापा रहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!