- रबिन कटेल/संगालोखबर

धनकुटा । स्थानीय तह निर्वाचन नजिकिदै गर्दा धनकुटामा क्रियासिल राजनीतिक दलहरु उम्मेदवारको टुंगो लगाउँने अन्तिम चरणमा पुगेका छन । तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटामा कतिपय स्थानीय तहमा दलहरुले उम्मेदवार घोषणा गरी चुनावको चयारीमा जुटेका छन ।

धनकुटा स्थित कांग्रेस, एमाले र माओवादी केन्द्रको पार्टी कार्यालय । तस्वीर-संगालोखबर

हालसम्म कांग्रेस र एमालेले धनकुटा नगरमा औपचारिक रुपमा उम्मेदवार घोषणा गरेका छन । त्यस्तै माओवादी केन्द्रले खाल्सा छिन्ताङ्ग सहीदभूमी गाउँपालिका र छथर गाउँपालिकामा औपचारिक रुपमा उम्मेदवार घोषणा गरेको छ । औपचारिक घोषणा हुन बाँकी रहेपनि केही बाहेक प्रायः सवै स्थानीय तहमा दलहरुले अधिकांस उम्मेदवारको टुंगो लगाईसकेका छन ।

Advertisement

कांग्रेसले धनकुटा नगरको मेयरमा दिनेश राईलाई उठाएको छ । यता उप–मेयरमा कांग्रेसले रेणु श्रेष्ठलाई उम्मेदवार बनाएको छ । वडा नम्बर १ र ७ मा कांग्रेस र संघीय समाजवादी फोरमवीच चुनावी तालमेल भएर संयुक्त उम्मेदवार उठाईएको कांग्रेस सचिव बिजयसन्तोषी राईले बताए ।

कांग्रेसका तर्फबाट धनकुटा नगरका मेयरका उम्मेदवार दिनेश राई र उप–मेयरका उम्मेदवार रेणु श्रेष्ठ । तस्वीर-संगालोखबर

एमालेले चिन्तन तामाङ्गलाई धनकुटा नगरमा मेयरको उम्मेदवार घोषणा गरेको छ । त्यस्तै उप–मेयरमा शकुन्तला बस्नेतलाई उम्मेदवार बनाएर नगरमा घरदैलो अभियान चलाएर भोट माग्ने काम भईरहेको एमाले प्रचार बिभाग प्रमुख नैन बिश्वकर्माले जानकारी दिए । एमालेले नगरका सवै पदमा उम्मेदवारको टुंगो लगाएर मतदातासँग भेटघाट थालेको हो ।

एमालेका तर्फबाट धनकुटा नगरका मेयर उम्मेदवार चिन्तन तामाङ्ग र उप–मेयरका उम्मेदवार सकुन्तला बस्नेत । तस्वीर-संगालोखबर

त्यस्तै माओवादी केन्द्रले औपचारिक घोषणा नगरेपनि धनकुटा नगरको मेयरमा गणेश बिष्टलाई उम्मेदवार बनाएको छ । त्यस्तै उप–मेयरमा बिष्णुमाया कन्दङ्वालाई उम्मेदवार उठाएको छ । नगरमा केही दिनमा उम्मेदवारको घोषणा गर्ने तयारी गरेर अहिले चुनावी अभियान जारी रहेको माओवादी केन्द्रका इन्चार्ज हेमराज भण्डारीले जानकारी दिए ।

माओवादी केन्द्रका तर्फबाट धनकुटा नगरका मेयर उम्मेदवार गणेश बिष्ट र उप–मेयर उम्मेदवार कविता कन्दङ्वा ।

पाख्रीवास नगरको मेयरमा कांग्रेसले २ नम्बर क्षेत्रीय सभापति ईन्दिरा थापालाई उठाएको छ ।

पाख्रीवास नगरमा काग्रेसका तर्फबाट मेयरका उम्मेदवार ईन्दिरा थापा ।

उप–मेयरमा ज्ञान बहादुर गुरुङलाई उम्मेदवार बनाएको छ ।

साविकको मुगा गाबिसका पूर्व अध्यक्षसमेत रहेका बैकल्पिक जिल्ला कमिटि सदस्य बिर्षबहादुर राईलाई एमालेले पाख्रीवास नगरको मेयरको उम्मेदवार बनाएको छ ।

यता एमालेको तर्फबाट पाख्रीवास नगरको उप–मेयरमा बैकल्पिक जिल्ला कमिटि सदस्य देवकला पौडेल (तिम्सिना) उम्मेदवार बनेकी छन ।

माओवादी केन्द्रले पाख्रीवास नगरको मेयरमा केन्द्रिय सल्लाहकार समिति सदस्य कृष्ण कटुवाललाई उम्मेदवार बनाएको छ । त्यस्तै उप–मेयरमा केन्द्रका तर्फबाट करुणा राई उम्मेदवार छन ।

एमालेका तर्फबाट पाख्रीबास नगरका मेयर उम्मेदवार बिर्षबहादुर राई र उप–मेयर उम्मेदवार देवकला पौडेल (तिम्सिना) ।

त्यस्तै महालक्ष्मी नगरपालिकामा कांग्रेस र राप्रपा वीच चुनावी तालमेल भएर सोमवार मात्रै उम्मेदवारको टुंगो लागेको छ । संयुक्त प्यानलबाट मेयरमा कांग्रेसका जिल्ला सभापति अग्नी प्रसाद पौडेल र उप–मेयरमा राप्रपाका महेन्द्र निरौला उम्मेदवार बनेका छन ।

महालक्ष्मी नगरका मेयरका उम्मेदवार क्रमस: अग्नी प्रसाद पौडेल (कांग्रेस), पर्शुराम नेपाल (एमाले) र राम नेपाल (माओवादी केन्द्र) ।

महालक्ष्मी नगरपालिकामा एमालेका तर्फबाट युवा नेता पर्शुराम नेपाल मेयरको उम्मेदवार भएका छन । उप–मेयरमा एमालेले मञ्जु अधिकारीलाई उठाएको छ । माओवादी केन्द्रले महालक्ष्मीमा राम नेपाललाई उम्मेदवार बनाएको छ भने उप–मेयरमा अझै टुंगो लाग्न वाँकी रहेको जिल्ला सह– इन्चार्ज उज्वल किरातीले बताए ।

यता राप्रपाले भने मंगलबार जिल्ला सदरमुकाममा कार्यक्रम गरी औपचारिक रुपमा उम्मेदवार घोषणा गर्ने जिल्ला अध्यक्ष कुमारबहादुर थापाले जानकारी दिएका छन ।

(चार गाउँपालिकाको बिषयमा पुन: अर्को समाचार प्रकाशन हुनेछ ।)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!