डि सि नेपाल

काठमाडौँ, ८ कात्तिक । २०७४ सालमा ‘ह्यासट्याग मी–टू’ अभियान विश्वव्यापी रुपमा निकै चर्चामा रह्यो । जस अन्तर्गत यौन हिंसाका विरुद्धमा विश्वभरका महिला एक भएका थिए । यौन हिंसा नेपालमा मात्रै नभई विश्वमानै बढ्दो छ । आफूमाथि भएका यौन दुव्र्यवहार र हिंसाविरुद्ध मौनता तोड्दै एक–अर्कालाई सहयोग गर्न महिला सामाजिक सञ्जालमा एक भएका थिए । सामाजिक सञ्जालको ऐक्यबद्धतालाई पछ्याउँदै कति स्थानमा सडकमासमेत ‘मि–टू’ अभियान चलेका थिए । अमेरिका, अफगानिस्तान, क्यानडा, फ्रान्स, चीनलगायतका देशमा यो अभियान निकै चर्चामा आएको थियो ।

पछिल्लो समय भारतमा ‘ह्यासट्याग मी टू’ अभियानको चर्चा चुलिँदै छ । जुन अभियान अन्तर्गत भारतीय महिलाले समाजमा लुकेर बसेका प्रतिष्ठित अनुहारको नकाब उतार्दैछन् । झन् बलिउडमा त यसले भूकम्प नै ल्याएको छ । ‘मी–टू’ अभियानले तीव्रता पाएसँगै पीडितहरूले भारतका नामी लेखक, पत्रकार, कलाकार, निर्माता र निर्देशकहरूबाट भएका यौन हिंसाका घटना सार्वजनिक गर्न थालेका छन् । यसले केन्द्रीय मन्त्री एम जे अकबर, अभिनेता आलोकनाथ, ऋतिक रोशन, गायक कैलाश खेर, गायक तथा संगीतकार अनु मलिक, रघु दीक्षित, प्रशान्त झा, सुहेल सेठ र महिला कमिक स्टार अदिती मित्तलसमेत ‘मी टू’को शिकार बनिसकेका छन् । उनीहरु माथि यौन उत्पीडन, गलत व्यवहार, संवेदनशील अंगमा छुनेलगायतका आरोपहरु लगाइएका छन् ।

Advertisement

पछिल्लो समय भारतीय सिनेमा उद्योगमा यौन उत्पीडनलाई लिएर अभिनेत्री तनुश्री दत्ताले नाना पाटेकरविरुद्ध आरोप दर्ता गरेकी छिन्। सन् २०१७ मा अमेरिकी कलाकार अलिस्सा मिलानोले ट्वीटरमार्फत चलाएको ‘मी टू’ अभियानलाई साथ दिँदै अन्य कलाकारहरु जीनेथ पाल्ट्रो, आश्ले जुड, जेनिफर लरेन्स र उमा थुर्मोनसमेत जोडिन पुगेका छन् ।

के हो ‘मी–टु’ अभियान ?

यो यौन हिंसाका विरुद्धमा सामाजिक संजालमा चलाइएको एक अभियान हो । यसले पीडितको आवाजलाई विश्वसामु पु¥याएर अरुलाई पनि आफूमाथि भएको दुव्र्यवहारको घटनालाई बाहिर ल्याउन प्रेरित गरेको छ । यसमा विश्वभरका पीडित महिलाले आफूमाथि भएको हिंसा सामाजिक संजालमार्फत सार्वजनिक गर्दै आएका छन् । ‘मी–टू’ वाक्यको प्रयोग सबैभन्दा पहिले सन् २००६ मा अमेरिकी अधिकारकर्मी तराना बुर्कले गरेकी थिइन् । समाजमा रहेको यौन हिंसाविरुद्ध जनचेतना जगाउन उनले यौन हिंसापीडित एक युवतीलाई ‘मी–टू’ भन्दै सहानुुभूति दिन यी शब्दहरूको प्रयोग गरेकी थिइन् ।

बुर्कपछि यसलाई चर्चित बनाउने काम हलिउड नायिका एलिसा मिलानोले गरिन् । उनले नै आफूमाथि भएका घटना उल्लेख गर्न सबैलाई अनुरोध गर्दै ट्विट गरिन् । उनले ट्विट गरेको २४ घन्टाभित्र विश्वका ४७ लाख मानिसले यसको प्रयोग गरेको पाइयो ।

नेपालमा पनि ‘मी–टु’ अभियान

नेपालमा पनि ‘मी–टू’ अभियान भित्रिएको छ । ‘मी–टू’ अभियान अन्तर्गत प्रदेश नम्बर ३ का भौतिक योजना तथा निर्माण मन्त्री तथा काठमाडौं महानगरका पूर्व मेयर केशव स्थापितमाथि यौन हिंसाको आरोप लागेको छ । करिब १५ वर्ष पहिला स्थापित मेयर हुँदा उनले महिला कर्मचारीमाथि यौन हिंसा गरेको पीडित महिलाले सामाजिक सञ्जालमार्फत खुलासा गरेकी छिन् ।

पत्रकार तथा महानगरकी तत्कालीन अधिकृत रश्मीला प्रजापतिले सामाजिक सञ्जालमा त्यति बेलाको घटना शेयर गरेकी छिन् । उनले भनेकी छिन्, ‘मेयर स्थापितको कुरा नमान्दा मैले जागिर गुमाउनु प¥यो, उनी यौनहिंस्रक हुन् ।’ रश्मीलाले मन्त्री स्थापितले अझै पनि महिलामाथि यौनहिंसा गरिरहेको बताएकी छिन् । उनले दर्जनौं महिलाले स्थापितका कर्तुतबारे आफूलाई बताएकोसमेत सामाजिक सञ्जालमा शेयर गरेकी छन् ।

कलिउडमा यौनहिंसा

‘मी–टू’ अभियानकै कारण बलिउडका हस्तीहरु उदांगिएका छन्, भने भारतीय विदेश राज्यमन्त्री एमजे अकबरले पदबाट राजिनामा दिनुपरेको थियो । बलिउडमा ‘मी–टु’ अभियानमा एकपछि अर्का हस्तिहरु फसिरहँदा नेपाली सिने जगतमा यौन हिंसा कत्तिको छ भनि हामीले केही नायिकालाई सोधेका थियौं ।

रेखा थापा: नेपाली सिने जगतकी चर्चित नायिका, निर्माता तथा निर्देशक रेखा थापाले ‘मी–टू’ अभियानले यौन हिंसा कम गर्न मद्दत पुग्ने बताएकी छिन् । नेपाली चलचित्र क्षेत्रमा पनि नयाँ अनुहारहरुलाई यौन हिंसा हुन सक्ने भन्दै यदि त्यस्तो भएको खण्डमा ‘मी–टू’ अभियानमार्फत आवाज उठाउन आग्रह गरिन् । उनले समाजमा लाज हुन्छ भन्ने कुरालाई मनमा नराखी आफूमाथि भएका हिंसालाई बाहिर ल्याएर त्यस्ता व्यक्तिलाई सिने जगतबाटै बहिष्कार गर्नुपर्नेमा जोड दिइन् । उनले ‘मी–टू’ अभियानलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै आफ्नो फेसबुक पेजमा पनि पोष्ट गरेकी छिन् ।

केकी अधिकारी: नेपाली चलचित्र क्षेत्रकै अर्की नायिका केकी अधिकारीले नेपाली सिने जगतमा यौन हिंसा भएको बताएकी छिन् । उनले सिने जगतमा मात्रै नभएर हरेक क्षेत्रमा यौन हिंसा भएको उल्लेख गरिन् । डिसी नेपालसँग कुरा गर्दै उनले भनिन्, ‘सबैभन्दा पहिले त यौन हिंसा कस्तोलाई भन्ने मा नै मानिस दुविधामा छन् । यौन हिंसा गर्नेलाई पनि थाहा हुँदैन कि ऊ हिंसा गरिरहेको छ ।’ पत्रकारले नेपाली चलचित्र क्षेत्रमा यौन हिंसा छ कि छैन भन्ने प्रश्नमा उनले भनिन्, ‘किन छैन ? यौन हिंसा हाम्रो क्षेत्रमा मात्रै नभएर तपाईको क्षेत्रमा पनि छ ।’

उनले थपिन्, ‘मी–टु’ अभियान यौन हिंसाको विरुद्धमा आवाज उठाउन राम्रो माध्यम बनेको छ । यदि कसैमाथि शारीरिक वा मानसिक कुनै पनि प्रकारका हिंसा भएका छन् भने आवाज उठाउनुस् चाहे त्यो १० वर्ष पहिला नै भएको किन नहोस् ।’ उनले धेरै मानिसहरुले ‘मी–टु’ अभियान महिलाको मात्रै हो भन्ने बुझेको बताएकी छिन् । तर यो अभियान महिलाको मात्रै नभएर यौन हिंसा विरुद्धको भएकाले यसको यसलाई त्यसरी नबुझ्न आग्रह गरिन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!