एजेन्सी

काठमाडौँ । मंगलबार साउदी राजा र युवराजले टर्कीस्थित साउदी वाणिज्य दूतावासमा मारिएका जमल खसोग्गीका छोरा सलाहलाई भेटेका छन् । रियादस्थित यमामाह शाही दरबारमा भएको भेटमा जमलका भाई सहेल पनि सलाहसँगै थिए ।

Advertisement

साउदी सरकारी एजेन्सीले भेटमा राजा र युवराजले खसोग्गीका नजिकका दुई आफन्तलाई तिनको परिवारमाथि परेको शोकको लागि संवेदना व्यक्त गरेको जनाएको छ ।

ट्वीटर प्रयोगकर्ताहरुले भने साउदी सरकारले सार्वजनिक गरेको उक्त भेटको फोटोहरु प्रति कडा टिप्पणी गरिरहेका छन् । विशेषत सलाह र साउदी युवराजबीच हात मिलाएको फोटोको धेरै आलोचना भइरहेको छ ।

खसोग्गी परिवारसँग नजिक रहेका एक व्यक्तिले समाचार एजेन्सी एपीसँगको कुराकानीमा सलाहलाई केही अघि देखि साउदीबाहिर जान प्रतिबन्ध लगाइएको बताए । सलाहका पिताले वासिन्टन पोष्टमा साउदी युवराजविरुद्ध आलोचनात्मक लेखहरु लेख्न थालेदेखिनै उनीमाथि प्रतिबन्ध लगाइएको थियो ।

युवराज बिन सलमानले खसोग्गीको हत्या गर्न निर्देशन दिएको वा कम्तिमा यसबारेमा जानकारी रहेको खबरहरु आइरहदा केही समयदेखि उनीमाथि तीव्र अन्तर्राष्ट्रिय दबाब परिरहेको छ ।

“उनीहरुले सलाहलाई दरबारमा समवेदना स्वीकार्न ल्याए । उनको अनुहारको त्यो भाव हेर्नुस् । यो फोटो हेर्दा मलाई वान्ता आउलाजस्तो भयो,” मनल अल–शरिफले लेखेकी छिन् । मनल साउदी अरबमा महिलाहरुले गाडि चलाउन पाउनुपर्छ भनेर अभियान चलाउनेमध्य एक हुन् ।

टिप्पणीकार तथा मध्यपूर्वमा मानवअधिकार क्षेत्रमा काम गर्ने फादि अल–कदीले फोटो समारोहलाई ‘निर्दयी’ भनेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, “जमल खसोग्गीको छोरा सलाहलाई त्यो व्यक्तिसँग हात मिलाउन बाध्य पारियो जसले उनको पितालाई मारेको आशंका छ । निर्दयी । निर्दयी । निर्दयी । ”

काउन्सिल अफ अरब–ब्रिटिश अण्डरस्टाण्डिङका क्रिस डोयलले खसोग्गीको परिवारका सदस्यहरुसँग भेटेर साउदी नेतृत्वले दिन खोजेको सकारात्मक सन्देश अहिले आएर उल्टो निस्किएको बताए ।

“फोटोमा उनीहरु परिवारप्रति उदार भएको देखिन्छ । तर हामी आफैले तस्वीरमा हेर्यौँ भने त्यसले हजारौँ शब्द भन्छ । यसले राजा सलमान विशेष गरेर युवराजसँगको भेटमा खसोग्गीका छोरा सलाहको पीडाको कथा भन्छ,” डोयलले भने ।

“मेरो विचारमा समाजिक संजालमा हेरिरहेका धेरैले यो त्यस्तो छोरोको अनुहार हो भनेर हेरिरहेको हुन्छन् जसले आफ्नो पितालाई मारेको शंका गरिएको व्यक्तिसँग हात मिलाईरहेको छ । साउदीले सार्वजनिक छवि सुधार गर्न गरिरहेको प्रयास असफल भएको यो अर्को उदारण हो ।”

‘बर्बर युवराजको अत्यन्त तुच्छ कार्य’

साउदी अधिकारीहरुले यो घटनासँग सम्बध ठानिएका १८ जनालाई पक्राउ गरिसकेको बताएका छन् । साथै केही उच्च अधिकारीहरुलाई पनि बर्खास्त गरिएको छ । तर अहिलेसम्म युवराज भने यो घटनाको आरोपबाट उम्किरहेका छन् । बिन सलमानले पटक पटक हत्यामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।

साउदी उर्जा मन्त्री खालिद अल–फलिहले मंगलबार खसोग्गीको हत्यालाई ‘घृणास्पद’ भन्दै ‘पछिल्ला केही दिन साउदी अधिराज्य अफ्ठ्यारा दिनहरुबाट गुज्रिरहेको’ बताए ।

“यस अधिराज्यको कसैले पनि यस कार्यको औचित्य पुष्टि गर्न सक्दैन । नेतृत्वदेखि तलसम्म हामी जे भयो त्यसबाट निक्कै निराश छौं ,”फलिहले भने ।

उता ट्वीटरमा भने हत्या युवराजल नै गरेको भने जसरी टिप्पणीहरु आइरहेका छन् ।

पियर्स मोर्गनले आफ्नो ट्वीटमा कडा शब्दमा लेखेका छन्, “जमल खसोग्गीलाई यातना दिएर अंगभंग गर्न र हत्या गर्न निर्देशन दिएको केही दिन पछि साउदी तानाशाह एमबीएस (जसलाई उनले व्यङ्यात्मक रुपमा ‘मोहम्मद बोन स’ अथ्र्याएका छन्) ले उनैको छोरालाई फोटो खिचाउन बाध्य पारे । यी र्बबर युवराजको आफ्नै मध्ययुगिन मापदण्ड अनुसार पनि यो अत्यन्त तुच्छ कार्य हो ।”

त्रिता पार्सीले ट्विटरमा लेखेका छन्, “हत्याराले आफूले हत्या गरेको व्यक्तिको छोरालाई भेटे, झुटो जवाफदेहिताको ढोङ्ग प्रस्तुत गर्न । आफ्नो बाबुको हत्यारालाई बचाउन गरिएको यो नाटकमा भाग लिन बाध्य पारिएको जमल खसोग्गीको छोरोको पीडा र डरको कल्पना गर्नुस् त ।”

अर्का ट्वीटर प्रयोगकर्ता याशर अलिले फोटोबारे टिप्पणी गर्दै ट्वीट गरेका छन्, “आज जमल खसोग्गीको छोरालाई राजदरबारमा युवराजसँग फोटो खिच्न बाध्य परियो । उसको अनुहार हेर्नुस् । सलाहलाई विगत एक वर्षदेखि अधिराज्य छोड्न प्रतिबन्ध लगाइएको थियो । यही कारणले उनी अमेरिकी नागरिकता पाएका भाईबहिनीसँग शोक मनाउनबाट पनि बन्चित भए । ”

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!