तेह्रथुम, ७ कात्तिक । चाडपर्वको मौका छोपेर पूर्वका विभिन्न सडक खण्डमा चल्ने सवारीले मनपरी भाडा असुलिरहेका छन् ।

Advertisement

पूर्वको धरान–धनकुटा–तेह्रथुम, म्याङलुङ–पोक्लाबाङ–संक्रान्ति, आठराइ–फिदिमलगायत सडक खण्डमा गुड्ने गाडीले मनपरी रूपमा भाडा लिइरहेका छन् । चाडबाडका बेला सहज आवतजावत हुने वातावरण बनाइनुपर्ने भए पनि यात्रुले सडक र सवारीमा अत्यन्तै धेरै सास्ती व्यहोर्न बाध्य भएका छन् ।

धरानबाट तेह्रथुमको म्याङलुङसम्म चल्ने साना जिप, बोलेरो, ट्याक्सीलगायत सवारीले निर्धारितभन्दा दोब्बर बढीसम्म भाडा लिइरहेका छन् । व्यवसायीले आफूहरूलाई टिकटसमेत नदिएका यात्रुले बताएका छन् । धरान–तेह्रथुम खण्डमा यसअघि प्रतिव्यक्ति रु ५०० भाडा लिने गाडीले अहिले रु एक हजारसम्म भाडा लिएर सवारी चलाइरहेका छन् ।

दशैँ बित्न लाग्दा चल्न थालेका बसले समेत म्याङलुङ–संक्रान्तिबजार (करीब ६५ किमी) सडक खण्डमा प्रतिव्यक्ति रु ६०० भाडा असुलिरहेको छ । आठराइ–फिदिम–इलाम–झापा सडक खण्डमा गुड्ने गाडीले समेत जथाभावी भाडा असुलेका छन् । यस्तै धरान–धनकुटा खण्डमा समेत निर्धारितदरभन्दा दोब्बर बढीसम्म भाडा लिइरहेका छन् ।

दुर्गम गाउँसम्म सडकको पुहँच त पुगेको छ । तर, चाडपर्वका बेला मौका छोपेर व्यवसायीले यात्रुसँग ठगीधन्दा चलाइरहेका छन् । रिजर्भका नाममा तेब्बर बढीसम्म भाडा लिएर यात्रुलाई ठग्ने काम भएको छ । सवारी साधनको कमी भएको भन्दै व्यवसायीले यात्रुबाट मनपरी भाडा असुल्ने गरेका छन् ।

दशैँमा बजार क्षेत्रमा व्यवसाय, काम र पढाइले बसेका घर फर्किएपछि बजार सुनसान बनेका थिए । दशैँमा सुनसान बनेका तेह्रथुमका म्याङलुङसहित जिरीखिम्ती, बसन्तपुर, सक्रान्तिबजारलगायत बजारमा मानिस र सवारीको चाप बढेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!