काठमाडौ, ७ कात्तिक । चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई दिंदै आएको सहयोग ५० प्रतिशत बढाएको छ। उसले दुई अर्ब ५३ करोड रूपैयाँ (एक सय ५० मिलियन आरएमबी) बराबरको सैन्य सहायता गर्ने भएको हो। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको साताव्यापी चीन भ्रमणका क्रममा उक्त समझदारी पत्रमा हस्ताक्षर हुने रक्षा मन्त्रालयका अधिकारीले बताए।

Advertisement

बेइजिङ जियान्सेन फोरम नामक सैन्य कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री पोखरेल मंगलबार चीन प्रस्थान गरेका छन्। उनी एक उपरथी र एक उपसचिवसहित चीन गएका छन्। चिनियाँ समकक्षी वाइ फेङ्गेको निमन्त्रणामा उनको चीन भ्रमण तय भएको हो। एक सयभन्दा बढी मुलुकका सैन्य प्रतिनिधि सहभागी रहने उक्त फोरममा चीनले प्रधानसेनापति पूर्णचन्द्र थापाको उपस्थिति चाहेको थियो। थापा प्रधानसेनापति भएपछि भ्रमणमा भन्दा आन्तरिक व्यवस्थापन र सुधारमा लागेकोले व्यस्तता देखाएर उपरथीलाई प्रतिनिधि पठाएका छन्।

‘चीनले नियमित उपलब्ध गराउँदै आएको एक सय मिलियन आरएमबीलाई यसपटक बढाएर एक सय ५० मिलियन आरएमबी पुर्‍याएको हो,’ रक्षा सचिव विष्णु लम्सालले भने, ‘चीनले उपलब्ध गराउने उक्त सहयोग विपद् व्यवस्थापन र सैन्य क्षमता वृद्धिका लागि आवश्यक सामाग्री हुन्। सिधा रकम उपलब्ध भने होइन।’ आजको अन्नपूर्ण पोष्टमा यो खबर छापिएको छ ।

बख्तरबन्द गाडी, सैन्य सामाग्री, ट्रक, क्रेनलगायत रहने रक्षा अधिकारीले जानकारी दिए। रक्षामन्त्रीको भ्रमणको क्रममा नेपाली सेना र चिनियाँ सेनाबीच हुँदै आएको दुईपक्षीय संयुक्त अभ्यास, सम्बन्धको निकटता, उच्चस्तरीय शिक्षा, प्रशिक्षण, नेपाली सेनाको शिक्षालयमा चिनियाँ सेनाको अध्ययनलगायत विषयमा छलफल हुने बताइएको छ।

चीनले नेपाली सेनालाई विपद् व्यवस्थापनका लागि उपलब्ध गराउने सहयोग भनिए पनि सैन्य क्षमता अभिवृद्धिमा सहयोग नै रहेको सेनाका अधिकारीले बताए। पछिल्लो समय नेपाली सेनासँग राम्रो सम्बन्ध विस्तार गरेको चिनियाँ सेनाले नेपाली सेनालाई इन्जिनियरिङको लागि चाहिने आवश्यक सामाग्रीदेखि भौतिक पूर्वाधारका सामाग्री समेत उपलब्ध गराउँदै आएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!