काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेका काव्यमा विविधतामा एकता प्रतिविम्वित भएको बताउनुभएको छ ।

Advertisement

सयौँ जन्मोत्सवका उपलक्ष्यमा राष्ट्रकवि घिमिरेलाई समभिनन्दन गर्नुहुँदै प्रधानमन्त्री ओलीले साहित्यका माध्यामबाट नेपाल र नेपालीलाई असाधारण गुण लगाएको प्रतिक्रिया दिनुभयो ।

राष्ट्रकवि माधवप्रसाद घिमिरे सयौँ जन्मोत्सव अभिनन्दन समारोह समिति र मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको संयुक्त आयोजनामा आज प्रज्ञा–प्रतिष्ठान कमलादीमा उक्त कार्यक्रम भएको थियो ।

“घिमिरेका काव्यमा नेपालीपन पाइन्छ, कवि मन र काव्यात्मकता पाइन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “राष्ट्रियतालाई मजबुद गर्ने काममा उहाँको ठूलो योगदान छ ।” “हिमालको कुरा गर्दा, देशको सिमाना बोलिरहेको हुन्छ, नेपाली मन र नेपाली भावना बोलिरहेको हुन्छ”, उहाँले थप्नुभयो ।

प्रधानमन्त्री ओलीले सुस्वास्थ्यको कामना गर्दै घिमिरे र सत्यमोहन जोशीलाई अजश्र स्रोतका रुपमा प्रेरणा दिइरहने व्यक्तिको सङ्ज्ञा दिनुभयो । उहाँले घिमिरेका पछाडि सरकार र जनताको मायाँ रहेकाले कुनै रोग विमारले छुन नसक्ने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सानो हुँदादेखि नै काव्य पढेर आनन्द लिने गरेकोे स्मरण गर्दै उहाँको शोककाव्य ‘गौरी’ मर्मस्पर्शी लागेर दोहो¥याएर पढेको बताउनुभयो । प्रधानमन्त्री ओलीले केही हरफ वाचनसमेत गर्नुभएको थियो ।

यी रोए पनि दुःख लाग्छ ।
सम्झेनी आमा भनी ।
यी हाँसे पनि सुख छैन ।
यिनले बिर्से यिनी आमा भनी ।

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले साहित्यिक कलाकारिताबाट घिमिरे नेपालीको मनमा बस्न सफल हुनुहुन्छ भन्नुभयो । साहित्यमा र राष्ट्रको प्रकृतिमा आफूलाई समर्पित गर्ने घिमिरेले नेपालको गौरवलाई माथि उठाएको उल्लेख गर्नुभयो ।

अभिनन्दन गर्नुअघि उहाँको घर लैनचौरबाट बाजागाजासहित राष्ट्रकवि घिमिरेलाई रथारोहण गरी नेपाल प्रज्ञा–प्रतिष्ठानसम्म ल्याइएको थियो । समभिनन्दन समारोहमा विभिन्न स्रष्टाले कवितामार्फत कवि घिमिरेको व्यक्तित्व र कृतित्वको चर्चा गरेका थिए ।

बुढेसकालसम्म नथाकी लेख्ने
नेपाल र नेपालीको शिर उच्च राख्ने
शताब्दी पुरुषका रथारोहण
गुराँसको थुङ्गाले गरौँ अभिनन्दन

राष्ट्रकवि माधवप्रसाद घिमिरेको सयौं जन्मोत्सव वर्षको उपलक्ष्यमा आइतबार राजधानीमा आयोजित समभिनन्दन समारोहमा कवि दम्पती । तस्वीर: रासस

स्रष्टा वीरबहादुर लोहनीका कविताका हरफ उहाँमा समर्पित थियो । अर्का स्रष्टा रामचन्द्र वनवासीले जन्मघर टेक्न अपिल गर्दै कविता प्रस्तुत गर्नुभएको थियो । यस्तै कविले दर्जनाँै कविता वाचन भएका थिए ।

राष्ट्रकवि माधवप्रसाद घिमिरे सयौँ जन्मोत्सव अभिनन्दन समारोह समितिका संयोजक डा वासुदेव त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष डा मुकुन्द पथिकले राष्ट्रकवि घिमिरेको व्यक्तित्वबारे प्रकाश पार्नुभयो ।

विसं १९७६ असोज ७ गते लमजुङको बाहुनडाँडामा जन्मनुभएका घिमिरेका ४१ नातिनातिना छन् । उहाँका दुई दर्जन साहित्यिक रचना प्रकाशित छन् भने ‘ऋतम्भरा’ लेखनको अन्तिम चरणमा पुगेको छ । दुई दर्जनजति सम्मान, विभूषणबाट विभूषित हुनुभएको छ । उहाँको प्रथम प्रकाशित रचना विसं १९९२ को ‘ज्ञानपुष्प’ हो ।

आयोजकका अनुसार सयौँ जन्मोत्वस वर्षभरि मनाउने कार्यक्रम छ । जसअनुसार ‘विद्यालयस्तरमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम, हवाईयात्रामार्फत जन्मघर लगेर अभिनन्दन गर्ने, मातृभाषा’ विषयक गोष्ठी सञ्चालन गर्ने, कविता महोत्सव गर्ने, हुलाक टिकट सार्वजनिक गर्ने, डुम्रेदेखि मनाङसम्म जाने बाटोको नामकरण गर्ने योजना छ ।

यस्तै बाहुनडाँडामा सङ्ग्रहालय बनाउने, लेख रचना सङ्ग्रह गरी जन्मसताब्दी विशेषाङ्क प्रकाशन गर्ने, हिउँचुलीलाई कवि घिमिरेको नाममा नामकरण गर्ने, जन्म क्षेत्रलाई साहित्यिक पर्यटनका रुपमा विकास गर्ने, विभिन्न ठाउँमा पूर्णकदमको प्रतिमा निर्माण गर्ने लगायतका कार्यक्रम रहेको डा मुकुन्द पथिकले जानकारी दिनुभयो ।

प्राध्यापक डा राजेन्द्र सुवेदीले घिमिरे अराजनीतिक भइकन पनि राजनीतिक द्रष्टा भएको उल्लेख गर्नुभयो । डा रामप्रसाद ज्ञवालीले कार्यक्रममा अभिनन्दन पत्र पढेर सुनाउनुभएको थियो ।

बाँच्न हौसला मिल्यो : राष्ट्रकवि घिमिरे

समभिनन्दनपछि मन्तव्य राख्नुहुँदै राष्ट्रकवि माधवप्रसाद घिमिरेले यस्तो ऐतिहासिक कार्यक्रम कहिल्यै अनुभूति नभएको प्रतिक्रिया दिनुभयो ।

उक्त कार्यक्रममा आफ्नो आँखाबाट चारपटक आँशु झरेको उल्लेख गर्नुहुँदै उहाँले प्रधानन्त्रीसमेत आएर बोल्दा र प्रेरणा दिँदा बाँच्नका लागि ठूलो हौसला मिलेको बताउनुभयो । “यसले मलाई अझै रचना गर्न प्रेरित गरेको छ”, घिमिरेको भनाइ थियो ।

उहाँको समभिनन्दनका लागि कलाकार लम्जुङबाट आएका थिए । कलाकारले मौलिक नृत्य र गीत प्रस्तुत गरेका थिए । मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष डा मुकुन्द पथिकले १०० वर्षसम्म निरन्तर काव्य साधना गर्ने व्यक्ति विश्व रङ्गमञ्चमा नहोला भन्दै गिनिज बुक्स अफ वर्ड रेकर्डमा नाम लेखाउन पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!