चितवन। गत आइतबार राति मतपत्र च्यातिएपछि सिल गरेर राखिएको मतगणना केन्द्र खोलेर च्यातिएका मतपत्रको गणना सुरु गरिएको छ ।

Advertisement

मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार मतपत्रको अवस्थाका बारेमा अध्ययन गर्न उम्मेदवार, तिनका प्रतिनिधि र पार्टीका प्रमुख गरी ४६ जनालाई मात्र छुट्टै अनुमतिपत्रको व्यवस्था गरी प्रवेश गर्न दिइएको छ । च्यातिएका मतपत्रको तथ्याङ्क लिएर निर्वाचन आयोगमा पठाइने उहाँले जानकारी दिनुभयो ।

मतगणना स्थलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र नेकपा (एमाले)ले छुट्टाछुट्टै ताला लगाएका थिए । दिउँसो २ः३० बजेदेखि ताला खोलेर च्यातिएका मतपत्रको अवस्था बुझ्ने र विवरण तयार गर्ने काम सुरु गरिएको छ ।

यसअघि निर्वाचन आयोगले सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको नेतृत्वमा आएको टोलीले घटनाका प्रत्यक्षदर्शी, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँग जानकारी लिएको थियो ।

सोको प्रतिवेदन टोलीले बुधबार बुझाएसँगै निर्वाचन आयोगले च्यातिएको मतपत्रको यकिन सङ्ख्या लिन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो ।

एमालेले मतपत्र नेकपा माओवादी केन्द्रका प्रतिनिधिले च्यातेको आरोप लगाएको छ भने माओवादी केन्द्रले एमालेले मतपत्र च्यात्न थालेपछि जोगाउने क्रममा च्यातिएको जनाएको छ । माओवादी केन्द्रका दुईजना प्रतिनिधिलाई पक्राउ गरी जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरिएको छ ।

भरतपुर महानगरपालिकाको वडा नं १९ को मतगणना अन्तिम चरणमा पुग्न लाग्दा मतपत्र च्यातिएको हो । अब वडा नं २० को मात्र मतगणना बाँकी रहेको छ ।

महानगरपालिकामा प्रमुख पदमा एमालेका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार रेणू दाहालभन्दा ७३३ मतले अगाडि रहनुभएको छ । महानगरमा एक लाख १२ हजार ७४१ मत खसेको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!