विराटनगर । सरकारले विराटनगरलाई महानगरपालिका बनाउने निर्णय गरेपछि विराटनगरवासी पुनः उत्साहित भएका छन् ।

सरकारले बुधबार विराटनगर उपमहानगरपालिकाको स्तरोन्नति गरेको घोषणा गरेपछि स्थानीय उत्साहित भएका हुन् । असार ८ गतेको मन्त्रिपरिषद्को निर्णयबाट सरकारले महानगरपालिका घोषणा गरेको लगत्तै सर्वोच्चमा रिट परेपछि विराटनगर पुनः उपमहानगरपालिकामा झरेको थियो ।

महानगरपालिका बनेको खुसीमा स्थानीयवासीले दीपावलीसमेत मनाएका थिए । चार दिनपछि पुनः उपमहानगरपालिकामा झरेपछि स्थानीयवासी उदासीन भएका थिए । सरकारले विराटनगरको सिमाना हेरफेर गरी भाथिगन्ज र टङ्कीसिनुबारीलाई थपेर वडाको सङ्ख्यामा वृद्धि गरेको थियो । अब विराटनगरका साविक १९ वटै वडालाई कायम राखी महानगरपालिकामा घोषणा गरिएको छ ।

महानगरपालिकालाई आवश्यक पर्ने क्षेत्रफल, जनसङ्ख्या र अन्य पूर्वाधारयुक्त विषय संवैधानिक तथा कानुनी व्यवस्था तथा स्थानीय तहको आवश्यकताअनुसार भविष्यमा पनि थप क्षेत्र विस्तार गर्दै लैजान सकिने सम्भावनालाई ध्यान दिई बुधबारको मन्त्रिपरिषद्ले सो निर्णय गरेको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!