म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा परम्परागतरुपमा गरिँदै आएको भूमेथानमा लिङ्गो जुधाइ प्रतियोगिताले यसवर्ष पनि निरन्तरता पाएको छ ।

प्रकृति पूजाका रुपमा चिनिने भूमे देवतालाई खुसी बनाउन मङ्गलबार दुई गाउँबीच लिङ्गो जुधाउने प्रतियोगिता सम्पन्न गरिएको हो । दग्नाममा विगत लामो समयदेखिको इतिहास बोकेको लिङ्गो जुधाउने प्रतिस्पर्धामा गैरी गाउँ र कान्छी गाउँले सहभागिता जनाउने गरेका छन् । दुई गाउँबाट छुट्टाछुट्टै रुपमा ध्वजा पताकाले सिङ्गारिएको अग्लो बाँसको लिङ्गो बोकेर मुन्का डाँडामा पुगेपछि प्रतिस्पर्धा गराइएको थियो ।

स्थानीय पुख्र्यौली गीत, नृत्य, पञ्चेबाजाको रमाइलो उत्सवबीच स्थानीयवासीले मङ्गलबार बिहान भूमे देवताको पूजा गरेपछि दिउँसो भूमे देवतालाई खुसी बनाउनका लागि लिङ्गो जुधाएका हुन् । अग्ला अग्ला सिङ्गारिएका लिङ्गोलाई प्रतिस्पर्धामा ल्याएकामा यो वर्ष दुवै लिङ्गो बराबर अग्लो भएका कारण दुवै गाउँ विजयी भएको एकता युवा क्लब, दग्नामका अध्यक्ष गुन पुन ‘गुञ्जन’ले जानकारी दिनुभयो ।

गतवर्ष पनि दुवै गाउँको लिङ्गो जुधाइ बराबरी नै भएको थियो । लिङ्गो जुधाइलाई रमाइलोसँगै गाउँको प्रतिष्ठालाई जोडिएर हेर्ने भएकाले दुवै गाउँका स्थानीयवासीले निकै मिहेनत गरी अग्ला लिङ्गो सिङ्गारेर प्रतिस्पर्धामा लैजाने चलन रहेको छ ।

जेठा भूमेका रुपमा चिनिने भएकाले दग्नामवासीले हरेक वर्षको जेठ महिनाको पहिलो वा दोस्रो साताको मङ्गलबारको दिन वर्षभरिको खेतीबाली राम्रो होस्, बाढी, भूक्षयजस्ता प्राकृतिक प्रकोपको सृजना नहोस् भनी स्थानीयवासीको सु–स्वास्थ्यको कामना गर्दै पुर्खौंदेखि भूमे देवताको पूजा गर्दै आएको स्थानीय अगुवा धनिलाल गर्वुजाले बताउनुभयो ।

भूमे देवतालाई जति खुसी बनाउन सकिन्छ, त्यति नै प्रकृतिले साथ दिने भएकाले पहिलेदेखि नै गाउँमा भूमे पूजा पर्वका अवसरमा स्थानीय दुई गाउँबीच लिङ्गो जुधाउने प्रतिस्पर्धा हुन थालेको उहाँको भनाइ छ ।

दग्नामवासीको महत्वपूर्ण पर्व भएकाले भूमे पुजा पर्व मनाउन देश तथा विदेशमा रहेका स्थानीयवासीसमेत घर फर्कने हुँदा यो पर्वले आफन्तको जमघट गराउने महत्वपूर्ण माध्यम बनेको स्थानीयवासी बताउँछन् ।

भूमे पूजाका अवसरमा स्थानीयवासीले एकै दिन सामे भूमे, सिद्ध भूमे, दवी, देउराली, भारा, खोला र मण्डलीको पूजाआजा गरेका छन् ।

यसैबीच, मङ्गलबारदेखि एकता युवा क्लब दग्नामको आयोजनामा भूमे पूजाको अवसरमा विविध खेलकुद तथा सांस्कृतिक मेलासमेत सुरु भएको छ । मेलामा पुरुष बास्केटबल, भलिबल, महिला भलिबललगायत विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेको क्लबले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!