रियाद, साउदी अरब, ७ असोज । साउदी अरबको सञ्चार क्षेत्रमा महिलाको सहभागिता बढ्न थालेको छ ।

Advertisement

साउदी अरबको इतिहासमा महिलाद्वारा साँझको समाचार वाचन नहुने गरेकोमा वेयम अल ढखिलले साउदी टेलिभिजन च्यानल–१ मा समाचार वाचन गरी सञ्चारमाध्यममा साउदी महिलाको आकर्षण बढेको पुष्टि गर्नुभएको हो ।

ढखिलले राज्य सञ्चालित साउदी टेलिभिजन च्यानलका समाचार वाचक ओमार अल नशवानको छेउमा बसी शनिबार साँझको बुलेटिन पढ्नुभएको यहाँको खलिज टाइम्सको आइतबारको अङ्कमा उल्लेख छ ।
जमुनाह अलशामी दुई बर्ष पहिले अर्थात् सन् २०१६ मा साउदी अरबमा बिहानको समाचार बाचन गर्ने पहिलो महिला बन्नुभएको थियो ।

साउदी टिभीको आधिकारिक ट्वीटर च्यानलमार्फत ढखिल पहिलो रात्रि बुलेटिन प्रस्तोता बनेको भनी उल्लेख गरिएको छ ।

महिलामाथिका प्रतिबन्धलाई खुकुलो पार्ने र राजतन्त्रात्मक मुलुकको अर्थतन्त्रलाई उर्जा बाहेकका क्षेत्रबाट योगदान गर्ने साउदी अरेबियाज भिजन २०३० सुधार कार्यक्रम अन्तर्गत पछिल्ला दिनहरूमा यहाँको प्रशासनले कडा नियमलाई केही खुकुलो पार्दै लान थालेको छ ।

साउदी अरबका राजकूमार मोहम्मद विन सलमानले गत बर्षदेखि महिलाको सहभागितालगायतका बिषयमा रहेको कडा नियमलाई हटाउँन शुरु गर्नुभएको हो ।

केही हप्ता पहिले रियादस्थित फ्लाइनस विमान कम्पनीले साउदी महिलालाई सार्वजनिक क्षेत्रमा प्रोत्साहन गर्ने कार्यक्रम स्वरूप विमानको सहचालक तथा परिचारिका भर्ना गर्ने बताएको थियो ।

जुन महिनादेखि साउदी महिलाले सवारी चलाउन नपाउने कानूनमा सुधार गरिएको थियो । यस पहिले साउदी महिलाले निजी वा सार्वजनिक कुनै कार वा गाडी चलाउन रोक लगाइएको थियो ।

गत मार्चमा साउदी अरबले इतिहासमा नै पहिलो पटक महिला तथा किशोरीहरूको दौडको आयोजना गरेको थियो । यस पहिले साउदी अरबमा खेलकूद क्षेत्रमा महिलाले सहभागिता जनाउँदैनथे । ऐतिहासिक पहिलो दौड प्रतियोगितामा एक हजार ५०० महिलाले सहभागिता जनाएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!