राष्ट्रसंघीय महासभामा कोफी अन्नानको सम्झना

संयुक्त राष्ट्रसंघ, ६ असोज । “संयुक्त राष्ट्रसंघ र कोफी अन्नान एक अर्काका परिपुरक हुन्, एउटालाई भुलेर अर्को अपुरो हुन्छ,” राष्ट्रसंघका वर्तमान महासचिव एन्टोनिओ गुटेर्रेसले पूर्व महासचिव अन्नानलाई सम्झदै शुक्रबार भन्नुभयो ।

पूर्व महासचिव अन्नानका गत अगस्ट १८ तारिखका दिन निधन भएकाले महासभामा उहाँको सम्झना गरिएको हो । घानाका नागरिक अन्नानले विश्वमा शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै नोबेल पुरस्कार समेत पाउनु भएको थियो ।

“उहाँ बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्थ्यो, हामीले उहाँलाई चाडै गुमायौँ, त्यसको अभाव महशुस गरिरहका छौँ, तै पनि हामी उहाँबाट धेरै प्रभावित छौँ,” गुटेर्रेसले भन्नुभयो ।

उहाँले सम्झदै भन्नुभयो, “कोफी अन्नानले पछिल्लो कुराकानीमा राष्ट्रसंघलाई मानवीयतातर्फ केन्द्रित गर्न आग्रह गर्नुभएको थियो, उहाँलाई विश्वभरका मानवको मानवअधिकार, आत्मसम्मान र न्यायका बारेमा चिन्ता थियो ।”

राष्ट्रसंघको ७३ औँ महासभामा बोल्नेहरु मध्ये अरुले पनि उहाँलाई असल र सफल महासचिवका रुपमा स्मरण र सम्मान गरेका थिए । अन्नान दुई कार्यकाल राष्ट्रसंघको महासचिव भइ विश्वमा शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।

error: Content is protected !!