उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) -नेपाली पात्रो 

वि.सं. २०७५ साल असोज ३ गते। बुधबार। इश्वी सन् २०१८ सेप्टेम्बर १९ तारिख। नेपाल संवत् ११३८ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– दशमी, २२:५६ बजेउप्रान्त एकादशी।

Advertisement

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अध्यात्मभाव जागृत हुनाले धर्मकर्म तथा समाजसेवामा प्रवृत्त भइनेछ। परिस्थितिवश रोकिएका काम सम्पादन हुनेछन्। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ। सानो प्रयासले ठूलो काम बन्नेछ। तारिफयोग्य कामले मानसम्मान दिलाउनेछ। आलस्य गर्ने बानीप्रति अलि टीकाटिप्पणी हुन सक्छ, सजग रहनुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
परिस्थितिवश काममा अलमल हुनेछ भने प्रतीक्षित नतिजासमेत कमजोर देखापर्नेछ। अस्वस्थताले धेरै क्रियाशील बन्न नसकिएला। अर्थ अभावले पनि सताउन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीबाट फाइदा उठाउने चेष्टा गर्नेछन्। अप्ठ्यारो स्थितिमा धैर्यले काम लिने चेष्टा गर्नुहोला। साँझतिर शुभचिन्तकहरूको साथ जुट्नाले काम बन्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ। क्षणभरको मनोरञ्जन कालान्तरमा अभिशाप बन्न सक्छ। साँझदेखि यात्रा तथा सवारीको उपयोगमा सावधान रहनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
मिहिनेत परे पनि कामबाट मनग्गे लाभ लिन सकिनेछ। आफ्नो फाइदाका लागि शत्रु र प्रतिस्पर्धीहरूलाई समेत उपयोग गर्न सकिनेछ। आँट तथा परिश्रमले लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। तर काम ढिलो गर्ने बानीले आफ्नै प्रतिफल कम हुनेछ। आहारविहारले स्वास्थ्यमा सुधार आउनेछ। साँझतिर आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कामको गति सुस्त हुनाले प्रतिफल पनि प्रभावित हुनेछ। आफ्नै कमजोरीले लक्ष्यमा पुग्न समय लाग्नेछ। राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्ने हुन सक्छ। अरूको भरले मात्र आफ्ना काम पूरा नहुन सक्छन्। अध्ययनका लागि आजको दिन त्यति उपलब्धिमूलक नभए पनि व्यावसायिक कर्मले गति लिनेछ। साँझतिर नयाँ कामको सुरुवात हुन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
आफ्नाबाट उपलब्धि नहुने देखिएकाले अरूको भरमा काम नछोड्नुहोला। सुरुमा गलत निर्णय लिइने हुँदा पछि काम दोहोर्याउनुपर्ने हुन सक्छ। साझेदारीमा मतभेद देखापर्न सक्छ। आफन्त र साथीभाइसँग पनि सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउन सक्छ। मिहिनेतको प्रतिफल हातपार्न केही समय प्रतीक्षा गर्नुपर्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
विभिन्न अवसर जुट्नाले प्रशस्तै फाइदा हुनेछ। काम बन्नाले आम्दानीका स्रोत थपिनेछन्। पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यवसायमा मनग्गे धनलाभ हुनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ। पहिलेका प्रतिस्पर्धीहरू समेत सहयोगीका रूपमा देखा पर्नेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। साँझतिर पारिवारिक असमझदारीले समस्या निम्त्याउला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
कुशल व्यवहार र विचारले अरूलाई आकर्षित गर्न सकिनेछ। सानो प्रयासले नाम, दाम र इनाम दिलाउन सक्छ। सार्वजनिक रूपमा मान–सम्मान प्राप्त हुने सम्भावना छ। अध्ययनमा प्रगति हुनेछ भने अभिव्यक्तिकलामा निखारता आउनेछ। साँझतिर पहिलेका समस्या हटे पनि प्रतिस्पर्धीहरूले अलि सताउन सक्छन्। योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
आत्मीयजनको आगमनले घर रमाइलो हुनेछ। विभिन्न उपहार प्राप्त हुनेछन् भने स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। दिगो योजना अघि बढ्नाले उत्साह जाग्नेछ। सहयोगीहरूले साथ दिनेछन्। भौतिक स्रोत–साधन जुटाउने मौका छ। शुभचिन्तकहरूको साथले जीवनशैलीमा सुधार आउनेछ। साँझतिर मनग्गे धन आर्जन हुनेछ। वादविवादमा भने सजग रहनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
घरखर्च बढ्नाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। विचार नमिल्नाले छिमेकमा असमझदारी बढ्न सक्छ। बन्न लागेको काम बीचमा रोकिन सक्छ। हुलमुलमा धनमाल जोगाउने चेष्टा गर्नुहोला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। खर्च लागे पनि देश–विदेश घुम्ने अवसर हातपार्न सकिनेछ। साँझदेखि आत्मबल प्राप्त हुनाले नयाँ कामतर्फ आकर्षित भइनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
आम्दानीका स्रोत सबल देखिए पनि तत्काललाई अर्थ अभावले सताउन सक्छ। नपुग रकम कर्जामार्फत जुटाउनुपर्ने हुन सक्छ। व्यापार बढे पनि लाभांश कमजोर हुने देखिन्छ। लेनदेनको हरहिसाबले सामान्य वादविवाद निम्त्याउन सक्छ। श्रमको उचित मूल्यांकन भए पनि लाभ उठाउन समय लाग्नेछ। साँझतिर फजुल खर्च बढ्नाले चिताएको कामलाई रकम अभाव हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
पेसागत कामबाट मनग्गे फाइदा उठाउने समय छ। सानो प्रयासले नयाँ जिम्मेवारी प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै समाजमा प्रतिष्ठित भइनेछ। ठूला व्यक्तिको सहयोग जुट्नाले पेसा–व्यवसायमा फाइदा हुनेछ। समय लागे पनि चिताएको काम सम्पादन सम्पादन गर्न सकिनेछ। साँझतिर मनग्गे आम्दानी हुनेछ। समाजसेवाका लागि नेतृत्व प्राप्त हुने सम्भावना छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!