रामपुर (पाल्पा)। कुनै समय घरआँगनका वरिपरि, करेसाबारीमा शौखका रुपमा लगाइने सूर्यमुखी फूलको व्यावसायिक रुपमा खेती गर्न थालिएको छ ।

Advertisement

मौरी चरनका लागि सूर्यमुखी फूल उपयोगी ठानिने र यसबाट कृषकले तेब्बर फाइदा लिन सक्ने भएका कारण कृषकले व्यावसायिक रुपमा खेती गर्न थालेका हुन् ।

सौन्दर्यताका लागि केही बोट आँगनको डिल, छेउछाउमा लगाउँदै आएपनि सो खेतीबाट मनग्य आम्दानी हुनथालेपछि कृषक त्यसतर्फ आकर्षित भएका हुन् ।

जिल्ला कृषि विकास कार्यालयले निःशुल्क सूर्यमुखी फूलको बीउ वितरण गर्दैआएको छ । बगनासकाली गाउँपालिका– १ ठूलाचौरका कृषकले जनजागृति अगुवा कृषक समूह गठन गरेर व्यावसायिक रुपमा खेती सुरु गरेका छन् ।

करिब १५ रोपनी जग्गामा लगाएको सूर्यमुखी फूल खेती सोचेभन्दा राम्रोसँग फस्टाएको कृषि सेवा केन्द्र, आर्यभञ्ज्याङका कृषि प्राविधिक सन्तोष जिसीले बताउनुभयो ।

यहाँका कृषकले स्रेस्ता जातको सूर्यमुखीको खेती गर्दैआएका छन् । यसका लागि कृषि कार्यालयले २० किलो बीउ तथा सिँचाइका लागि रु ६० हजार रकम अनुदानमा उपलब्ध गराएको छ ।

फूलको बियाँबाट तेल उत्पादन तथा डाँठलाई दाउराका रुपमा प्रयोग गर्न सकिने जनजागृति अगुवा कृषक समूहका अध्यक्ष पोषकान्त भण्डारी बताउनुहुन्छ ।

“एक पटकमा तेब्बर बाली उत्पादन गर्न सकिन्छ,” उहाँले भन्नुभयो । बगनासकालीको ठूलाचौरमा अहिले व्यक्तिगत रुपमा समेत कृषकले सूर्यमुखी फूलको खेती गरिरहेका छन् ।

कृषि कार्यालयले मौरीको पकेट क्षेत्रका रुपमा सो ठाउँलाई अगाडी बढाएपछि सूर्यमुखी खेतीको विस्तार गरिएको हो । सूर्यमुखी फूलको खेती गर्न थालेपछि मौरीको मह उत्पादनमा समेत वृद्धि भएको भण्डारीले बताउनुभयो ।

सूर्यमुखी फूल बाह्रै महिना फुल्छ । फूलका कारण मौरीलाई चरन हुने अर्कोतर्फ बियाँबाट तेल उत्पादन गर्न सकिने जनजागृति अगुवा कृषक समूहका सचिव ज्ञानु अर्याल बताउनुहुन्छ ।

दूध बेचेर एक लाख आम्दानी

मस्याम, डुम्रेकी सीता अस्लामी गाईपालन व्यवसाय थालेपछि पाल्पामै नमुना महिला व्यवसायीका रुपमा चिनिनुहुन्छ । विगत आठ वर्षदेखि व्यवसाय थाल्नुभएका उहाँले गाईपालनबाट मासिक रु एक लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ ।

बीसवटा उन्नत जातका गाई आम्दानी गर्दैआउनुभएका उहाँको फार्ममा जर्सी जातका १५ वटा गाई दुहुना छन् । “दूध बेचेर दैनिक रु छ हजारसम्म आम्दानी हुन्छ,” उहाँले भन्नुभयो ।

गाउँकै डुम्रे दुग्ध उत्पादक सहकारीमा अस्लामीले प्रतिलिटर रु ५० मा दूध बिक्री गर्नुहुन्छ । उहाँले विदेशिएका श्रीमान्लाई स्वदेश फिर्ता गरी यही व्यवसायमा संलग्न गराउनुभएको छ ।

सो व्यवसायमा अस्लामीले रु १८ लाख लगानी गर्नुभएको छ । डुम्रे दुग्ध उत्पादक सहकारीले अस्लामीलाई बिना धितो ऋण उपलब्ध गराएपछि व्यवसाय गर्न सजिलो भएको हो ।

सुरुवातमा अस्लामीले एउटा गाईबाट फार्मको सञ्चालन गर्नुभएको हो । अहिले उहाँको फार्ममा २० वटा जर्सी जातका माउ गाई छन् । व्यवसाय सञ्चालनका लागि जिल्ला पशुसेवा कार्यालयले गोठ सुधार कार्यक्रमअन्तर्गत रु २० हजार अनुदान उपलब्ध गराएको प्राविधिक शेरबहादुर रानाले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!