सोलुखुम्बु। वर्षातका कारण कच्ची बाटो भत्किँदा तथा हिलाम्मे हुँदा सोलुखुम्बुको ग्रामीण भेगमा सञ्चालन हुने अधिकांश सडक यातायात अवरुद्ध भएको छ।

जिल्ला सदरमुकामसम्म पुग्ने कालोपत्रे सडक सञ्चालनमा रहेको भए पनि सदरमुकामबाट ग्रामीण भेगमा पुग्ने अधिकांश सडक कोही पहिरोले भत्किएर त कोही कच्ची बाटोमा हिलाम्मे भएर अवरुद्ध भएका हुन्।

Advertisement

सदरमुकामबाट नेले हुँदै तीनवटा गाउँपालिकामा पुग्ने सडकमार्ग गार्मामा हिलो तथा पहिरोका कारण एक सातादेखि अवरुद्ध छ। सो बाटो खुलाउनका लागि पहल भइरहेको सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाले बताए।

तर निकै समस्याका कारण तत्काल बाटो सहज हुने सम्भावना कम रहेको सवारी चालक पवन तामाङले बताए।

सदरमुकामबाट नेचासल्यान गाउँपालिका जाने कच्ची सडक पनि तिङ्लामै रोकिएको छ। खोल्सा बढ्नुका साथै बाटो हिलाम्मे भएकाले गाडी लैजान सक्ने अवस्था नरहेको जिप चालक सुजन नेपालीले बताए।

सदरमुकामबाट तामाखानी, जुनबेसी, काँकु, बासा, केरुङ, टाप्टिङलगायतका क्षेत्रमा पुग्ने बाटो पनि वर्षात्सँगै अवरुद्ध भएको छ।

नियमित केही दिन घाम लागेमा केही रुटमा बोलेरो जिप लैजाने गरिएको भए पनि अत्यन्तै जोखिम रहेको चालकहरु बताउँछन्।

धेरैजसो ग्रामीण मार्गमा केही दिनदेखि सडक यातायात सञ्चालन हुन सकेको छैन। सडक अवरुद्ध हुँदा ग्रामीण भेगमा उत्पादन हुने तरकारी, फलफूललगायतका कृषि उपज सदरमुकामसम्म बिक्रीका लागि ल्याउनसमेत समस्या भएको नेचासल्यान गाउँपालिकाबाट केरा बिक्रीका लागि सल्लेरी ल्याएको एकनाथ कट्टेलले बताए।

वर्षात्का कारण कच्ची सडकमा समस्या हुनु स्वाभाविक भएको भन्दै अवरुद्ध भएको स्थानमा अस्थायी व्यवस्था गरेर भए पनि यातायातका साधन सञ्चालनका लागि पहल भइरहेको प्रजिअ उमेश पाण्डेले बताए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!