बनियानी (झापा) । दोस्रो चरणको स्थानीय तहको निर्वाचन सङ्घारमा आइसकेको छ । अधिकांश उम्मेदवार मतदतासँग भोट माग्न घरदैलो अभियानमा जुटेका छन् तर दैनिक ज्यालादारी गरेर दुई छाक टार्दै आएका मजदुर वर्गमा भने त्यति धेरै चुनावी रौनक नभएपनि मतदान गर्ने पक्षमा छन्

झापाको बिर्तामोडस्थित एक्सल बैंक नजिकै बालुवा चालिरहेका चारपानेका राजु मगरले चुनावको दिन काममा नजाने सोच बनाउनु भएको छ । ‘काम नगरी मुखमा माड लाग्दैन’, उहाँले भन्नुभयो, ‘तर पनि मतदान गर्न नछुटाउदिन ।’ चुनाव जनताभन्दा पनि नेताका लागि हुने उहाँको भनाइ छ । चुनावका बेला घरमै आएर धेरै आश्वासन दिए पनि कसैले पनि आश्वासन पुरा नगरेको उहाँको गुनासो छ ।

अर्जुनधारा नगरपालिकाका लोकबहादुर श्रेष्ठ सिटीबस चालक हुनुहुन्छ । हरेक दिन यात्रुलाई गन्तव्यसम्म पु¥याउँदै आउनुभएका उहाँ भन्नुहुन्छ, “नेताले देशलाई शान्ति र समृद्धिको गन्तव्यसम्म पु¥याउन सकेनन् तर पनि यसपटक स्थानीय तहको निर्वाचनमा काम गर्ने मान्छे छोनेर मतदान गर्छु ।”

यस्तै, बनियानी घर भई विर्तामोड क्षेत्रमा मजदुरी गर्दै आउनुभएका मेसेरुदिन मियाँले गाउँमै ठूलो कम्पनी खोलेर बेरोजगारलाई रोजगार दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “चुनावको दिन घर जाने चाजोपाँजो मिलाउँदै छु ।” बाह्रदशीका लालबहादुर राई सिटी रिक्सा चलाउनुहुन्छ । पहिलो पटक मतदान गर्ने तयारीमा रहनुभएका उहाँ हुनुहुन्छ, “मजदुरका जीवन सधै व्यस्त हुने भएकाले चुनावको चहलपहलले आफूलाई नछोएको छैन। ”

यता, विर्तामोडकी निरो साह बिहानबेलुका मात्र चुनाव आएको जस्तो लागेको बताउनुहुन्छ । भन्नुहुन्छ, ‘‘बिहान बेलुका भोट माग्न आउछन्, दिनभर कामले गर्दा केही थाहा हुँदैन ।”

विर्तामोड झापाको प्रमुख व्यापारी केन्द्रका रुपमा विकास हुँदै आएकाले यहाँ छिमेकी जिल्ला इलाम, मोरङका साथै भारतीय नागरिक कामको सिलसिलामा आउने गर्छन् । गाउँघरमै रोजगारको व्यवस्था नहुँदा सहर धाउनुपर्ने उनीहरुको बाध्यता भएपनि स्थानीय तहको निर्वाचनले गाउँगाउँमा विकास पुग्ने र रोजगार पाउने सुनेपछि उनीहरु निर्वाचनतर्फ आकर्षित भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!