काठमाडौँ, १२ भदौ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले तल्लो तहदेखि नै फुटबलको विकासका लागि ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु गरेको छ ।

Advertisement

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आज एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच उक्त कार्यक्रमको शुभारम्भ गर्नुभयो ।

कार्यक्रमअन्तर्गत जिल्ला तहबाटै फुटबलको विकासका लागि एन्फाले विविध कार्यक्रमसमेत बनाएको छ । कार्यक्रम यही भदौ २७ गतेबाट औपचारिक शुरुवात गरिने एन्फाले जनाएको छ ।

फुटबलको सर्वोच्च निकाय फिफाको फुटबल विकास कार्यक्रमअन्तर्गत एन्फाले ‘ग्रासरुट’ कार्यक्रम अघि बढाएको हो । कार्यक्रममा आठ देखि १३ वर्ष उमेरसमूहका बालबालिकालाई सहभागी गराई फुटबलको विकास शुरु तहदेखि नै गर्न लागिएको एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंहले जानकारी दिनुभयो । “फुटबलको जग बलियो बनाउन अभियान शुरु गरिएको छ”, उहाँले भन्नुभयो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा कम्प्लेक्स) सातदोबाटोमा आयोजित कार्यक्रममा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई मायाँको चिनोस्वरुप फुटबल हस्तान्तरण गर्दै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा । तस्वीर: रासस

अभियान सञ्चालन, फुटबलको गतिविधि बढाउन, मैदानको मर्मतलगायतको कार्य गर्न एन्फाले ४५ वटै जिल्ला फुटबल सङ्घलाई आर्थिक सहयोग र खेलकुद सामग्रीसमेत प्रदान गरेको छ ।

सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले सहयोग कार्यक्रमअन्तर्गत सुगम जिल्लालाई रु पाँच लाख नगद र रु एक लाख बराबरको खेलकुद सामग्री तथा दुर्गम जिल्लालाई रु १० लाख नगद र रु एक लाख बराबरको खेल सामग्री सम्बन्धित जिल्ला सङ्घका पदाधिकारीलाई हस्तान्तरण गर्नुभयो ।

अभियानलाई निरन्तरता दिन एन्फा नेतृत्वको ध्यानाकर्षण गराउँदै उहाँले “अभियान शुरु गरेर मात्र हुँदैन्, यसले निरन्तरता पाउनुपर्छ, अभियानको निरन्तरताका लागि सरकार सहयोग गर्न तयार छ”, भन्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले खेलकुद समाजलाई जोड्ने सूत्र भएको उल्लेख गर्दै पछिल्लो समयमा खेल क्षेत्रमा समेत राजनीतिक प्रभाव पर्न थालेकाले यसलाई अन्त्य गर्नुपर्ने सुझाव दिनुभयो ।

राजनीति हस्तक्षेपका कारण खेल क्षेत्र प्रभावित भएको बताउँदै उहाँले खेल क्षेत्रमा राजनीतिक नियुक्ति गर्दा खेलकुदकै विज्ञहरुलाई गर्नुपर्नेमा जोड दिनुभयो ।

एक फरक प्रसङ्गमा उपप्रधानमन्त्री पोखरेलले सरकार अहिले ऐन, नियम र कानून बनाउन लागि परेकाले विकास निर्माणका काममा केही ढिला भए पनि जनतासामु गरेको वाचा पूरा गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले अभियानलाई आगामी वर्षदेखि वार्षिक कार्यक्रममा राखेर अघि बढाइने बताउँदै फुटबलको विकासका लागि आगामी वर्षदेखि यू–१४, यू–१६ र यू–१८ को राष्ट्रिय लिग गर्न एन्फाले तयारी गरिरहेको जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!