रत्ननगर (चितवन) । नेकपा (माओवादी केन्द्र) चितवनले मतपत्र च्यातिएर मतगणना स्थगित भएको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन मतदानको माग गरेको छ ।

माओवादी केन्द्रले एक विज्ञप्ति जारी गरी स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४९ र ५० अनुसार उक्त वडामा पुनः मतदानको माग गरेको हो ।

सोमबार एक विज्ञप्ति जारी गरी केन्द्रले उक्त घटना एमालेले घटाएको भन्दै घटनाको वास्तविकतालाई बङ्ग्याएर सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट माओवादी केन्द्रविरुद्ध प्रचार गरिएको भन्दै भत्र्सना गरेको छ ।

जिल्ला इन्चार्ज ईश्वरी भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा मतगणनाको अन्तिम समयमा आएर निर्वाचनलाई प्रभाव पार्ने नियतले नेकपा (एमाले)ले गरेको हर्कतले लोकतन्त्रमाथि उसको प्रतिबद्धताप्रति नै प्रश्न चिह्न उठाएको उल्लेख गरिएको छ ।

एमालेले सुरुदेखि नै मतपरिणामलाई प्रभाव पार्ने उद्देश्यले स्वतन्त्र उम्मेदवारको पास प्रयोग गरी अनधिकृत मान्छेको प्रवेश गराउने गर्दै आएको सोही विज्ञप्तिमार्फत माओवादी केन्द्रले आरोप लगाएको छ ।

“मतगणना चलिरहँदा हाम्रो उम्मेदवार जिततर्फ अघि बढिरहेका बेला एक्कासि एमालेका मतगणना प्रतिनिधि कृष्ण न्यौपाने, गणेश लामा, अश्विन घिमिरे र प्रकाश ढुङ्गानाले मतपत्र कब्जा गरी च्यात्न लागेपछि आफ्ना प्रतिनिधि द्रोणबाबु शिवाकोटी र मधु न्यौपानेले मतपत्रको रक्षागर्ने क्रममा केही मतपत्र च्यातिन पुगे”, जारी विज्ञप्तिमा भनिएको छ ।

सो क्रममा माओवादी केन्द्रले पक्राउ परेका शिवाकोटी र न्यौपानेको तत्काल रिहाइको मागसमेत गरेको छ । राति नै उनीहरुलाई प्रहरीले मतगणनास्थलबाट पक्राउ गरेको थियो ।

उक्त वडामा एमालेले मतगणना अगाडि बढाउन माग गरेको छ भने नेपाली काँग्रेसले पनि पुनः मतदानको माग गरेको छ ।

चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले निर्वाचन आयोगमा घटनाबारे जानकारी दिएको र आयोगको निर्देशनअनुसार अघि बढ्ने बताउनुभएको छ । अहिले मतगणनास्थल सिल गरिएको छ भने प्रहरी सुरक्षा कडा पारिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!