काठमाडौैं । भरतपुर महानगरपालिकाले गणतन्त्र दिवसका अवसरमा आज जनप्रतिनिधि पाउँदै थियो । तर मतगणना करिव करिव अन्तिम चरणमा पुगेका बेला आइतवार मध्यरातमा मतपत्र च्यातियो ।

Advertisement

मतपत्र च्यातेको आरोप एमाले र माओवादीले एक अर्कालाई आरोप प्रत्यारोप गरेपनि चितवनका प्रहरी प्रमुखले माओवादी कार्यकर्ता द्रोण शिवाकोटीले च्यातेको बताइसकेका छन् ।

मतपत्र कसले च्यात्यो भन्ने अब बहसको विषय रहेन । बहस अब पुनः मतगणना कि पुनः मतदान भन्नेमा केन्दि्रत भएको छ । एमालेले च्यातिएका मतपत्र एकातिर राखेर पुनः मतगणना गर्नुपर्ने माग राखेको छ । माओवादी केन्द्रले पुनः मतगणना स्वीकार्य नहुने भन्दै पुनः मतदानको माग राखेको छ ।

एमालेका चितवन जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले सोमवार विहानै पत्रकार सम्मेलन गरेर माओवादीले मतगणना स्थलमा केही न केही गडबडी गर्ने सूचना पाएर आफूले निर्वाचन अधिकृत र सुरक्षा प्रमुखलाई पहिले नै जानकारी दिएको बताएका छन् । आफूहरुले दिएको सूचनाप्रति सम्बद्ध पक्ष गम्भिर नबन्दा माओवादी नेताले मतपत्र च्यातेको उनको आरोप छ ।

माओवादी केन्द्रले औपचारिक रुपमा आफ्नो धारणा पत्रकार सम्मेलन मार्फत नै व्यक्त गर्ने बताएको छ । तर माओवादी नेता तथा मेयर उम्मेदवार रेणु दाहालका काका नारायण दाहालले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘हामीले ९० मतअन्तरले अग्रता लिइरहेका थियौं । हाम्रो जित निश्चित देखेपछि एमालेले मतपत्र च्यात्यो, कुल्चियो र मतगणनास्थललाई रणभूमि बनायो । अब निर्वाचन कानुनअनुसार १९ नम्बर वडामा पुनः मतदान गर्नुपर्छ ।’

उनले एमालेले पूर्वतयारीका साथ मतगणना बिथोलेको आरोप लगाए । तर माओवादीले मतपत्र च्यात्यो भनेर एमालेले गलत प्रचार गरिरहेको दाबीसमेत उनले गरे । ‘गणना बिथोल्ने पूर्वतयारीका साथ नै स्वतन्त्रको नाममा पास बनाउँदै एमालेले दिउँसैदेखि बिभिन्न मान्छेहरुलाई हुलिरहेको थियो,’ दाहालले भने, ‘हामीले च्यात्ने भए त करिब चार हजार मतअन्तरले पछि परिरहेको बेला नै च्यात्ने थियौं । गल्ती आफूले गर्ने र दोष हामीलाई लगाउने एमालेको काम आपत्तीजनक छ ।’

एमालेले पुनः मतदान स्वीकार्य नहुने बताउनु र माओवादीले पुनः मतगणना स्वीकार्य नहुने बताउनुले भरतपुर महानगरपालिकाको मतगणना अन्यौलमा परेको छ । यस बारेमा अन्तिम निर्णय गर्ने अधिकार प्राप्त संवैधानिक अंग निर्वाचन आयोगले केही बोलेको छैन ।

चिवतनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानले च्यातिएका मतपत्र सहितको सबै घटनाक्रम समेटेर मुचुल्कासहित आयोगमा जानकारी पठाएर मतगणना रोकेका छन् । निर्वाचन आयोग भरतपुरको मतपत्र च्यातिएको सन्दर्भमा के गर्ने भन्ने निर्णयमा पुग्नका लागि आयुक्तहरुको बैठक बसिरहेको स्रोतले जनाएको छ ।

हार्ने पक्षले मतपत्र च्यात्ने र आयोगले त्यहाँ पुनः चुनाव गराउने हो भने कुनै पनि ठाउँमा चुनाव हुन नसक्ने र मतगणना सम्पन्न हुन नसक्ने कानुनविद समेत रहेका चितवन एमाले अध्यक्ष कृष्णभक्त पोखरेलले बताए । सांसदसमेत रहेका उनले भने, ‘हार्ने भएरै मतपत्र च्यातेका हुन् । तर हामीले होइन भन्दै थिए, पुनः मतदानको माग गरेर उनीहरुले मतपत्र च्यातेको आफैं स्वीकार गरेका छन् ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!