नयाँ दिल्ली, १ भदौ । तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल हुनुभएका अटल विहारी वाजपेयीलाई भारतीय नागरिकले राजनीतिक दलको नेता या भारतका पूर्वप्रधानमन्त्रीका रुपमा मात्र नभएर एकजना सन्त नेताका रुपमा पनि हेर्ने गर्छन् ।
अविवाहित रहेका र एकजना कविको पनि पहिचान बनाएका यस्ता नेता वाजपेयीको बिहीबार साँझ ५ बजे निधन भएको छ । अल इन्डिया मेडिकल इन्स्टिच्युट् अफ मेडिकल साईन्स (एम्स) ले बिहीबार साँझ उहाँको निधनको घोषणा गरेपछि भारतीय राजनीतिमा उहाँको योगदान र व्यक्तित्वको चर्चा शुरु भएको छ ।
उहाँ भारतमा तीन पटक प्रधानमन्त्री बन्नु भएको थियो । उहाँको निधनप्रति दुख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द मोदीले उहाँको निधनले भारतवर्षमै ठूलो र अपुरणीय क्षति पुगेको छ भन्नुभएको छ । उहाँले वाजपेजी भारतका एक सम्मानित व्यक्ति भएको पनि बताउनु भएको छ ।
करिब ३६ घण्टादेखि उहाँको स्वास्थ्यमा गम्भीर सङ्कट उत्पन्न भएको समाचारहरु आएका थिए । त्यसो त उहाँ लामो समयदेखि नै सो अस्पतालमा रहनुभएको थियो । वाजपेयी भारतीय जनता पार्टी (बिजेपी) का संस्थापक नेता हुनुहन्थ्यो । हाल भारतको राज्य सत्ता सोही पार्टीले चलाएको छ र सोही पार्टीका नेता नरेन्द्र मोदी यहाँको प्रधानमन्त्री हुनुहुन्छ । प्रधानमन्त्री मोदीले उहाँलाई आफ्नो राजनीतिक जीवनको प्रेरणाको स्रोतका रुपमा लिनुहुन्छ ।
मधुमेहका बिरामी वाजपेयीका ९३ बर्षीय नेता गत जुन ११ देखि एम्स अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उहाँलाई मिर्गौलाको सङ्क्रमणलगायत विभिन्न स्वास्थ्य समस्या देखिएको थियो । सो अस्पतालले बिहीबार उहाँको स्वास्थ्य अवस्था सार्वजनिक गर्न जारी गरेको विज्ञप्तिमा उहाँको अवस्था ‘चिन्ताजनक’ भनेको थियो । त्यसको केही घन्टापछि उहाँको निधनको घोषणा भएको हो ।
बिहीबार साँझ वाजपेजीलाई दिल्लीको उहाँको निवासमा नै राखिएको थियो । उहाँको राजकीय सम्मानका साथ शुक्रबार अपरान्ह ४ बजे अन्त्येष्टि गरिने विजेपीका प्रमुख अमित शाहले बताउनु भएको छ ।
वाजपेयीको श्रद्धाञ्जलिका लागि शुक्रबार बिहानबाट मध्याह्न १ः३० बजेसम्म उहाँको पार्थिव शरीरलाई दीन दयाल उपाध्याय मार्गमा रहेको विजेपीको मुख्य कार्यालयमा राखिएको छ । यसपछि उहाँको शवयात्रा निकालिने छ । यस यात्रामा लाखौँको सङ्ख्यामा जनसहभागीता रहने अनुमान गरिएको छ ।
वाजपेयीको अन्तिम यात्रामा हुनसक्ने ठूलो जनसहभातालाई मध्यनजर गरेर शुक्रबार भारतीय राजधानी नयाँ दिल्लीकै सुरक्षा व्यवस्थामा पनि कडाई गरिएको छ । अपराह्न ४ बजेपछि राजघाटनजिकै राष्ट्रिय स्मृतिमा उहाँको अन्तिम संस्कार गरिने जानकारी दिइएको छ ।
पाकिस्तानका भावी प्रधानमन्त्री अर्थात तेहरिक इन्साफका नेता इमरान खानले पनि वाजपेयीको निधनति दःुख व्यक्त गर्नुभएको छ । उहाँले पाकिस्तान र भारतको द्विपक्षीय सम्बन्ध सुधारको प्रयासमा वाजपेयीको योगदानलाई अविस्मरणीय रुपमा सम्झना गरिने उहाँले आफ्नो ट्वीटर अकाउन्टमा लेख्नुभएको छ ।
त्यसैगरी भारतीय काँग्रेस पार्टीका नेता राहुल गान्धीले लाखौँ व्यक्तिले वाजपेयीलाई माया र सम्मान गर्ने बताउनु भएको छ । उहाँले आफ्नो ट्वीटरमा भारतमाताले आज एक सपूत गुमाएको बताउनु भएको छ ।
सन् १९२४ डिसेम्बर २५ तारिखका दिन उत्तर प्रदेशको आगरा जनपदको प्राचीन स्थान बटेश्वरमा उहाँको जन्म भएको थियो । उहाँले कानपुरको डी.ए.वी. कलेजबाट राजनीतिशास्त्रमा प्रथम श्रेणीमा एम.ए. उत्तीर्ण गर्नु भएको थियो । पछि उहाँले एल.एल.बी. को पढाई शुरू गरेपनि छोडेर विद्यार्थी कालदेखि नै राष्ट्रिय स्वयंसेवक सङ्घमा लाग्नुभएको थियो ।
महात्मा रामचन्द्र वीरद्वारा रचित अमर कृति “विजय पताका” पढेर आफू उत्प्रेरित भएको बताउने बाजपेयीले डा. श्यामप्रसाद मुखर्जी र पं.दीनदयाल उपाध्यायको निर्देशनमा राजनीतिको पाठ पढ्नु भएको थियो ।
भारतीय जन सङ्घको संस्थापक वाजपेयी सन् १९६८ देखि १९७३ सम्म त्यसको अध्यक्षको रूपमा राजनीतिक नेतृत्व गर्नुभयो । सन् १९५५ मा लोकसभाका लागि गरेको पहिलो पटकको प्रतिस्पर्धामै उहाँ पराजित हुनुभयो । सन् १९५७ मा बलरामपुरबाट भने जनसङ्घको तर्फबाट विजयी भई लोक सभामा पुग्न सफल हुनुभयो ।
सन् १९५७ देखि १९७७ सम्म जनसघंको संसदीय दलको नेता बन्नुभयो भने १९६८ देखि १९७३ सम्म भारतीय जनसङ्घको राष्ट्रिय अध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो ।
सन् १९७७ देखि १९७९ सम्म भारतको विदेशमन्त्री बनेर उहाँले विदेशमा भारतको छवि राम्रो बनाउन सफल हुनुभयो । उहाँले संयुक्त राष्ट्रसंघमा हिन्दीमा भाषण गरेर भारतीयलाई गौरवान्वित गराउनु भएको थियो ।
सन् १९८० मा भारतीय जनता पार्टीको स्थापनामा महत्वपूर्ण भूमिका खेल्नुभएका बाजपेयीले ६ अप्रिल, १९८० मा सो पार्टीको अध्यक्ष पदको जिम्मेवारी पाउनुभयो । त्यसपछि दुईपटक राज्यसभामा निर्वाचित हुनुभयो र १९९७ मा प्रधानमन्त्रीका रूपमा पहिलो पटक देशको बागडोर सम्हाल्ने ऐतिहासिक अवसर पाउनुभयो ।
उहाँले सन् १९९८ को अप्रिल १९ तारिखका दिन पनि पुनः प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै १३ दलको गठबन्धन सरकार मार्फत् पाँच वर्षमा देशको विकासमा अनेक आयाम थप्नुभयो ।
वाजपेयीकै नेतृत्वमा सन् २००४ को लोकसभा चुनावमा भिडेको भाजपाले नतिजा आफ्नो पक्षमा पार्न नसकेपछि प्रतिपक्षमा बस्न बाध्य भयो । त्यसपछि उहाँले राजनीतिबाट सन्यास लिएको घोषणा गर्नुभयो ।