सौराहा, चितवन, ३० साउन । अखिल नेपाल फुटबल सङ्घ एन्फा को १७ औँ विशेष साधारणसभा आजदेखि चितवनको सौराहामा शुरु भएको छ । विशेष साधारणसभाको उद्घाटन गर्दै प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले खेल पर्यटनमार्फत नेपाललाई समृद्ध पार्न सकिने बताए।

Advertisement

उनले भने, “अन्तर्राष्ट्रियस्तरका ठूला खेलको आयोजनामार्फत नेपालमा लाखौँ पर्यटक भित्र्याउन सकिन्छ, खेल पर्यटनको प्रवद्र्धनका लागि प्रदेश सरकार क्रियाशील छ ।” खेल पर्यटन नेपालका लागि सबैभन्दा फाइदा पुग्ने क्षेत्र रहेको उनको भनाइ थियो ।

‘युवाको गौरव, जवानीमा पौरख र प्रदेशको सौरभ’ भन्ने मूल नाराका साथ प्रदेश सरकारले आगामी तीन वर्षभित्र प्रदेशस्तरीय खेलकूद प्रतियोगिता आयोजना गर्ने नीति अघि सारेको उहाँले जानकारी दिए ।

उनले सरकारले देखेको समृद्धिको सपना पूरा गर्न खेलकूदको विकास अपरिहार्य रहेको बताए । भूकम्पका कारण भत्किएको दशरथ रङ्गशाखा निर्माणको काम तीन वर्षसम्म गर्न नसक्नु खेल क्षेत्रकै दुःखदायी कुरा भएको उहाँले बताए।

प्रतिनिधिसभाका सांसद सुरेशकुमार राईले खेलकूदको विकासका लागि सरकारले नयाँनयाँ नीति ल्याउनुपर्नेमा जोड दिए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रङ्गशालाको आवश्यकता औँल्याए ।

कार्यक्रममा प्रदेश नं ३ का प्रदेशसभा सदस्य नारायण सिलवाल, मिलनबाबु श्रेष्ठ, मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद्का सदस्य उपेन्द्र पौडेललगायतले फुटबलको विकासका लागि योजनाबद्ध ढङ्गबाट अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले एन्फालाई सङ्घीय संरचनाअनुसार लैजाने बताए ।

कार्यक्रममा खेलमार्फत अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान दिलाएका फुटलबका पाँचजना पूर्वखेलाडीलाई जिल्ला फुटबल सङ्घ चितवनले सम्मान गरेको छ । सम्मानित हुनेमा सूर्यमान श्रेष्ठ, अरुणा गुरुङ, छन्नुराम चौधरी, ललित थापा र राजेन्द्रकुमार श्रेष्ठ हुनुहुन्छ ।

चितवनको सौराहामा बुधबार अखिल नेपाल फुटवल संघ(एन्फा)को १७औं विशेष साधारणसभामा मन्तव्य राख्दै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा । तस्वीर: रासस

सङ्घीय संरचनाअनुसार विधान संशोधन हुँदै

एन्फाको १७ औँ विशेष साधारणसभाले आर्थिक पारदर्शीताका लागि इतिहासमै पहिलोपटक आर्थिक नियमावलीसहित विधान संशोधन गर्दैछ । साधारणसभाले कार्यसञ्चालन नियमावली, कर्मचारी प्रशासन नियमावली, खेलाडी दर्ता नियमावलीसमेत पारित गर्ने अध्यक्ष शेर्पाले जानकारी दिए । नयाँ विधानअनुसार एन्फा अब प्रदेशस्तरीय संरचनामा जानेछ ।

यस्तै खेलाडी दर्ता अनलाइनमार्फत गरिने, छेलाडीको वृत्ति विकासका लागि अक्षयकोष स्थापना गरिने एन्फाले जनाएको छ । दर्तामा व्यावसायिक क्लब, गाउँस्तर र स्कुलका खेलाडीसमेत सहभागी हुन पाउनेछन् ।

परम्परागत लिग खेललाई व्यवस्थित गरी जिल्ला लिग खेलाउने, जिल्लाबाट छनोट भएकालाई प्रदेशमा, प्रदेशबाट उत्कृष्ट भएकालाई एन्फा प्रेसिडेन्ट कपमा सहभागी गराउँदै राष्ट्रिय लिग गर्ने योजना अघि सारिएको छ ।

एन्फाले रौतहटमा महिला टेक्निकल सेन्टर स्थापना निकट भविष्यमै गरिने सो अवसरमा जानकारी दिइयो । साधारणसभामा फुटबलको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजनासमेत प्रस्तुत गरिँदैछ ।

विशेष साधारणसभामा ४५ जिल्ला सङ्घ, १४ ए डिभिजन क्लब, नौ बि डिभिजन क्लब, पाँच सी डिभिजन क्लबबाट चार समिति महिला, खेलाडी, प्रशिक्षक, रेफ्री, एएफसीका प्रतिनिधि गरी ३०० जना प्रतिनिधि सहभागी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!