पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलेसरकार राष्ट्रिय जनता पार्टी (राजपा) बाट नियन्त्रित र निर्देशित रहेको आरोप लगाएका छन् । प्रतिपक्ष एमाले भने अहिले सरकार जस्तो भएको दाबी गरे ।

प्रेस चौतारी कास्कीले आइतबार विहान पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रको वर्तमान गठबन्धन सरकार राजपाबाटै सञ्चालित भएको आरोप लगाए ।

Advertisement

सरकारलाई हात्ती र राजपालाई माउतेको संज्ञा दिँदै ओलीले भने, ‘हेर्दा हात्ती ठूलो हुन्छ तर, माउतेले हात्तीलाई नियन्त्रणमा राखेर काम गराउँछ । वर्तमान सरकार (हात्ती) र राजपा (माउते) जस्तै हो, यो राजपाबाटै नियन्त्रित र निर्देशित सरकार हो ।’

पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले राजपालाई देखाएर कांग्रेस–माओवादी केन्द्रले निर्वाचन टार्ने प्रयास गरिरहेको आरोप लगाए ।

सरकार र सरकारबादी दलहरुले जेठ ३१ गतेको निर्वाचन सार्ने र टार्ने काम गरिरहेको भन्दै उनले भने,‘राजपालाई भन्न लगाउने अनि कांग्रेस–माओवादीले गर्ने काम भइरहेको छ । सरकार र सरकारवादी दलहरुले सकेसम्म जेठ ३१ गतेको निर्वाचन नगर्ने र नगराउनेतिर लागिरहेको छ ।’

प्रतिपक्षी नै सरकार जस्तो

विपक्षी दलका नेता ओलीले आफ्नो दल एमाले नै अहिले सरकार जस्तो भएको दाबी गरे । सरकार चुनाव गराउने जिम्मेवारीबाट भाग्न खोजिरहेकोे तर, एमालेले रोक्ने काम गर्ने भएको बताए ।

उनले एमालेलाई हराउने षड्यन्त्र अनुरुप सरकारले स्थानिय तहको संख्या थप्ने काम गरेको आरोप लगाए । तर, सर्वोच्च अदालतले त्यसलाई रोकेर ठीक ठाउँमा ल्याएको उनको भनाइ थियो ।

सहमतिको बाधक कांग्रेस मात्रै

ओलीले कांग्रेस सहमतिको बाधक भएको समेत आरोप लगाए । माओवादी केन्द्रप्रति नरम भएर प्रस्तुत भएका ओलीले अन्य दल सहमतिका लागि तयार भएको दाबी गर्दै भने,‘नेपाली कांग्रेस मात्रै हो सहमति हुन नदिने, मधेशीलाई उक्साउने, भड्काउने, अरु कोहीपनि होईन ।’

एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीले सहमतीय सरकार चाहेपनि अन्य दल गम्भीर नबनेको आरोप लगाए ।

सहमतीय सरकार अहिलेको आवश्यता भएको भन्दै उनले त्यसका लागि एमालेलाई प्रधानमन्त्री नै चाहिन्छ भन्ने नभएको स्पष्ट पारे । उनले च्याँखे थाप्नलाई मात्र सहमतीय सरकारको कुरा नगरेको जिकिर गरे ।

तर आफूले सहमतीय सरकार भन्दा कांग्रेस झस्केको टिप्पणी गर्दै उनले भने, ‘मैले सहमतीय सरकार बनाउँ भनेर के भनेको थिएँ, कांग्रेसका नेताहरु झस्केछन् ।’

ओलीले जोसुकैको नेतृत्वको सरकार आएपनि चुनाव नगराई सुख नपाउने दाबी गरे । उनले भने, ‘निर्वाचन गराउनै पर्ने बाध्यता छ, निर्वाचन नगराएर सरकारमा बस्नै सक्दैन, मिल्दै मिल्दैन ।’

यदि त्यस्तो भईहाले एमालेले अर्को बाटो खोज्ने उनको चेतावनी थियो । तर, त्यो बाटो के हो भन्ने खुलाएनन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!