सोलुखुम्बु, २३ साउन । हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धार गर्न आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले आज बिहानदेखि काम शुरु गरेको छ ।

मङ्गलबार हेलिकोप्टरमार्फत नाम्चे पुगेको टोलीले आज बिहान ९ः४५ बजेदेखि काम शुरु गरेको प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए । ४८ मिटर गहिरो सो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको टोलीले उद्धार गर्ने विश्वास लिइएको छ ।

मङ्गलबार दिउँसो २ बजे खुम्बु पासाङल्हामु गाउँपालिकाको मच्छेरमुमा अवतरण गराइएको टोली तीन घण्टाको पैदलयात्रा पछि साँझ गोक्यो पुगेको थियो । गोक्योमा नै अवतरण गर्ने योजना भए पनि मौसमको प्रतिकुलताका कारण मच्छेरमुमा अवतरण गरिएको खुम्बु पासाङल्हामु गाउँपालिका– ४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए ।

जिल्लामा तालीम प्राप्त जनशक्ति र साधन नहँुदा उद्धारमा समस्या भएकाले सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक रामचन्द्र खड्काको नेतृत्वको पाँच गोताखोर गोक्यो आएका हुन् ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका जनप्रतिनिधि, प्रतिनिधिसभा सदस्य हेमकुमार राई, प्रदेशसभा (क) का सांसद उत्तमकुमार बस्नेत र प्रदेशसभा (ख) का सांसद बुद्धिकुमार राजभण्डारीको पहल तथा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको समन्वयमा गृहमन्त्रालयले गोताखोरको टोली गोक्यो पठाएको प्रजिअ रानाको भनाइ छ ।

उद्धारका लागि सम्पूर्ण व्यवस्थापनको जिम्मा खुम्बु पासाङल्हामु गाउँपालिकाले लिएको छ । भौगोलिक विकटताको कारण पैदलयात्रामार्फत पुग्न सक्ने सम्भावना नभएपछि हेलिकोप्टरको माध्यमबाट आउने जाने गरिएको छ । हेलिकोप्टरसहितको व्यवस्थापनको सम्पूर्ण कामको जिम्मेवारी खुम्बु पासाङल्हामु गाउँपालिको लिएको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताए ।

शैक्षिक भ्रमणमा लैजाने शिक्षक निलम्बित

विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनको निर्णयलाई लत्याउँदै जबर्जस्ती शैक्षिक भ्रमणमा लैजाने दुई शिक्षकलाई निलम्बन गरिएको छ । गाउँपालिकाको निर्देशनमा विद्यालय व्यवस्थापन समितिको आइतबार बसेको बैठकले शिक्षकलाई निलम्बन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताए ।
“घटनाको सत्यतथ्य छानबिन गरी कारवाही प्रक्रियामा सहयोग गर्ने उद्देश्यले शिक्षकलाई निलम्बन गरिएको हो,” शेर्पाले भने ।

हिमालयन ट्रष्टको सहयोगमा खुम्जुङका स्थानीय छुङजिङ दोर्जे शेर्पा र भक्तपुरका रञ्जित बललाई विद्यालय प्रशासनले मौसम प्रतिकुल भएकाले शैक्षिक भ्रमण रद्द गर्न आग्रह गरेको थियो । तर विद्यालय प्रशासनको उक्त भनाइलाई लक्षित गर्दै उनीहरुले सामाजिक सञ्जालमा प्रशासनको आलोचनासमेत गरेका थिए । “विद्यालय प्रशासनको निर्देशन विपरीत काम गर्नेलाई कारवाही गर्न गाउँपालिका सकारात्मक छ,” अध्यक्ष शेर्पाले भने ।

पौडी खेल्ने क्रममा पौडन नजानेर ती बालक डुबेको श्रव्यदृश्यसमेत सार्वजनिक भएको छ । श्रव्यदृश्यमा पाँच छ जनाको टोली तालको छेउमा पौडी खेलेको देखिन्छ । छोटो समय पौडी खेल्दै गर्दा एक जनाले आफूले लगाएको गञ्जी समेत फुकालेर राख्छन् र पुन पौडन जान्छन् । सोही क्रममा अर्का एक जना बालक पनि पौडन जान्छन् र पौडन नजानेपछि तालको गहिराइतिर गएको देखिन्छ ।

सोही क्रममा गञ्जी फुकालेर पौडने बालक पनि उनलाई उद्धार गर्न गएजस्तो देखिन्छ । दुवै जना झन तालको गहिराइतिर जान्छन् । सोही समयमा अर्का एक जना पनि उद्धार गर्न गएजस्तो देखीन्छ ।

उक्त समयमा माथिबाट हेरिरहेका विद्यार्थी उनीहरुको नाम बोलाउँदै काराउँछन् । पानीमा पौडदै गरेका साथीलाई उद्धार गर्न अर्का एक जना कालो कपडा लगाएका जान्छन् र एक जनालाई भने तानेर उद्धार गर्न सफल भएको श्रव्यदृश्य सार्वजनिक भएको छ । त्यस समयमा केही विद्यार्थीले डोरी दिनुपर्छ भन्ने पनि आवाज आउँछ ।

हिमतालको पानी अत्यधिक चिसो भएको र पौडन नसक्ने भएको कारण बालकको मृत्यु भएको अनुमान गर्न सकिने प्रहरीले जनाएको छ । तत्काल पौडी खेल्न सक्ने व्यक्ति भएको भए उनीहरुलाई उद्धार गर्न सकिने सोलुखुम्बुका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक रेशमबहादुर पराजुलीले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!