ललितपुर, २२ साउन । जनावरको शरीरको कुनै पनि अङ्गका आधारमा त्यो कुन क्षेत्रको जनावर हो, अब सजिलै छुट्याउन सकिने भएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले गत वर्षबाट जनावरको डिएनए परीक्षण शुरु गरेपछि कुन जनावरको अङ्ग हो भन्ने मात्रै होइन कहाँको जनावर हो भन्ने समेत छुट्याउन सकिने भएकोे जनाएको छ ।

Advertisement

जनावर कुन क्षेत्रकोे छुट्याउन सक्दा आन्तरिक चोरी हो वा अन्तर्राष्ट्रिय चोरी भन्ने छुट्टिने प्रयोगशालाका कार्यकारी निर्देशक जीवनप्रसाद रिजालले बताउनुभयो । उहाँले भन्नुभयो, “यसले गर्दा जनावरको चोरी शिकारी गर्नेलाई कारवाही गर्न सहयोग पुग्नेछ ।” जनावरको डिएनए परीक्षणका लागि मुद्दा आउने क्रम बढेको छ ।

प्रयोगशालामा केही समय पहिले एउटा हात्तीको पुच्छर परीक्षणका लागि आएको थियो । पुच्छर एशियाको हात्तीको भएको परीक्षणपछि पत्ता लाग्यो । प्रयोगशालामा जनावरका विभिन्न अङ्ग परीक्षणका लागि आइरहेका छन् । उहाँ भन्नुहुन्छ, “पहिले हामी कुन जनावरको अङ्ग हो भन्नेमा मात्रै केन्द्रीत थियौँ भने अहिले कुन क्षेत्रको भन्ने पनि हेर्छौं ।”

छिमेकी मुलुकका जनावरका कतिपय गुण मिल्ने हुनाले कुन क्षेत्रको हो भन्ने नछुट्टिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल र भारतमा पाइने हात्ती झण्डै उस्तै हुनाले छुट्याउन गाहे छ । तेस्रो मुलुकको जनावर भने सजिलै छुटिन्छ ।”

प्रयोगशालामा अर्थिक वर्ष २०७३÷७४ बाट वन्यजन्तुको डिएनए परीक्षण शुरु भएको हो । पहिलो वर्षमा विभिन्न निकायबाट ५८ वटा मुद्दाका ३०२ वटा नमूना परीक्षणका लागि आएका थिए ।

प्रयोगशालामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, जिल्ला वन कार्यालय, निकुञ्ज सैनिक गणलगायतका स्थानबाट जनावरको परीक्षण गर्न मुद्दा आइरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!