काठमाडौ। निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सुरक्षाकर्मीबाहेक एक लाखको हाराहारीमा कर्मचारी खटाउन लागेको जानकारी दिएको छ ।

Advertisement

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दोस्रो चरणको निर्वाचनको सबै प्रकारको तयारी पूरा भएको जानकारी दिँदै सुरक्षाकर्मीबाहेक ९५ हजार ९३१ कर्मचारी खटिने बताउनुभयो ।

चार सय ६१ स्थानीय तहमा हुने दोस्रो चरणमा हुने निर्वाचनमा छ हजार ७१८ वटा मतदानस्थल र ११ हजार ९३१ मतदान केन्द्रमा ती कर्मचारी खटाउने आयोगले तयारी गरेको हो । उक्त निर्वाचनबाट २३ हजार ३८३ जनप्रतिनिधिको चयन हुनेछ ।

चारवटा प्रदेशका ४३ जिल्लामा जेठ ६ गते नै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भई सञ्चालनमा आइसकेको छ । मुख्य निर्वाचन अधिकृतका रुपमा सम्बन्धित जिल्लाका जिल्ला न्यायाधीशले जिम्मेवारी सम्हाल्ने छन् भने निर्वाचन अधिकृतको जिम्मेवारी निजामती सेवा वा न्याय सेवाका उपसचिवस्तरका कर्मचारीबाट हुनेछ ।

स्थानीय तहमा मतदान अधिकृतको कार्यालय यही जेठ १५ गते खोलिने छ । मुख्य निर्वाचन अधिकृतले समग्रमा जिल्लाभरिको निर्वाचन प्रक्रियाको नेतृत्व गर्नुका साथै जिल्ला सदरमुकाम रहेको स्थानीय तहको मतदान अधिकृतको कार्यसमेत गर्नु हुनेछ ।

मुख्य निर्वाचन अधिकृतले त्यस जिल्लाको हरेक मतदान केन्द्रमा पठाउनुपर्ने निर्वाचन सामग्रीको रुजु गर्ने, अन्य बन्दोबस्तीका सामग्रीको प्रबन्ध गर्ने, मतदान केन्द्रमा खटिने कर्मचारीको व्यवस्थापन तथा तालिम गर्नेलगायत कार्य गर्ने छन् ।

प्रवक्ता शर्माले केन्द्रबाट मतदाता नामावली, मतदाता परिचयपत्र, निर्वाचन बन्दोबस्तीका सबै सामान सम्बन्धित जिल्लामा पु¥याइसकिएको जानकारी दिनुभयो ।

दोस्रो चरणको निर्वाचनमा १२ उपमहानगरपालिका, १५६ नगरपालिका र २९३ गाउँपालिका गरी ४६१ स्थानीय तहमा निर्वाचन हुन लागेको हो ।

सरकारले पछिल्लोपटक २२ स्थानीय निकाय थप गर्ने निर्णय गरेपनि सर्वोच्च अदालतको आदेशले स्थगित भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!