काठमाडौँ, २१ साउन । गत आर्थिक वर्ष २०७४/७५ मा व्यापारघाटा साढे ११ खर्ब रुपियाँ नाघेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिकमा वर्षमा १२ खर्ब ४३ अर्ब ३० करोड रुपियाँ बराबरको आयात गर्दा ८१ अर्ब १९ करोड १६ लाख रुपियाँ बराबरको मात्र निर्यात गरेको छ ।

Advertisement

पछिल्ला आर्थिक वर्षमा मुलुकको कुल वैदेशिक व्यापारमा आयात र निर्यातबीचको असन्तुलन बढ्दै गएको छ । ५ वर्ष अवधिमा व्यापारघाटा झण्डै दोब्बरले बढेको भन्सार विभागको तथ्यांक छ ।

आर्थिक वर्ष २०६९/७० मा ५ खर्ब ३६ अर्ब बराबर रहेको व्यापारघाटा ५ वर्षमा बढेर ११ खर्ब नाघेको छ । वार्षिक रुपमा वैदेशिक व्यापारमा वृद्धि भएसँगै मुलुकले व्यहोर्दै आएको व्यापारघाटा पनि बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७३/७४ को तुलनामा गत आर्थिक वर्षमा कुल वैदेशिक व्यापार २५ दशमलव २७ प्रतिशत, आयात २६ दशमलव ३१ प्रतिशत, निर्यात ११ दशमलव १७ प्रतिशत र व्यापारघाटा २७ दशमलव ५३ प्रतिशतले बढेको छ ।

भारतसँगमात्रै ७ खर्ब ६४ अर्ब व्यापारघाटा
गत आर्थिक वर्षमा नेपालले भारतसँग मात्र ७ खर्ब ६४ अर्ब ३० करोड रुपियाँ व्यापारघाटा व्यहोरेको छ । नेपालले भारतबाट ८ खर्ब १० अर्ब ९० करोड रुपियाँ बराबरको आयात गर्दा ४६ अर्ब ६० करोड रुपियाँ बराबरको मात्र निर्यात गरेको छ ।

त्यस्तै चीनबाट १ खर्ब ५९ अर्ब ९८ करोड रुपियाँ बराबरको आयात र २ अर्ब ४३ करोड रुपियाँबराबरको निर्यात गर्दा १ खर्ब ५७ अर्ब ५४ करोड रुपियाँ बराबरको व्यापारघाटा व्यहोरेको छ । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!