काठमाडौँ, २० साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी सदस्यता शुल्कबाट मासिक साढे तीन करोड उठ्ने भएको छ ।
स्थायी कमिटीदेखि क्रियाशील सदस्यबाट मात्रै मासिक तीन करोड ६१ लाख २८ हजार रुपैयाँ उठ्ने भएको हो । दुई पार्टी एकता भएको दिनदेखि नै पार्टीको सदस्य शुल्क बुझाउनुपर्ने नेकपा महासचिव विष्णु पौडेलले बताए ।
नेकपाको अन्तरिम विधान २०७५ अनुसार पार्टीको संगठित सदस्यको मासिक शुल्क ५० रुपैयाँ राखिएको छ । सोहीअनुसार तत्कालीन एमालेको क्रियाशील सदस्यको संख्या चार लाख र तत्कालीन माओवादी केन्द्रले तीन लाख क्रियाशील सदस्य रहेको दाबी गरेका छन् ।
यसरी नेकपाको सात लाख क्रियाशील सदस्यबाट मात्रै मासिक तीन करोड ५० लाख रुपैयाँ आम्दानी हुने भएको छ ।
स्थानीय कमिटीबाट मात्रै मासिक चार लाख
पार्टीको स्थानीय कमिटीमा बसेका नेताले संगठित सदस्य शुल्कको १० प्रतिशत थप हुने गरी मासिक शुल्क बुझाउनुपर्नेछ । संगठित सदस्य शुल्क ५० रुपैयाँमा थप १० प्रतिशत जोड्दा स्थानीय पार्टी कमिटीले मासिक प्रतिव्यक्ति ५५ रुपैयाँ उठाउनुपर्नेछ ।
यसरी सात सय ५३ स्थानीय तह र ती स्थानीय तहका कुल ६ हजार सात सय ४३ वडा कमिटीमा बसेका नेताबाट मासिक सदस्य शुल्क चार लाख १२ हजार दुई सय ८० रुपैयाँ उठ्ने भएको छ । आजको नयाँ पत्रिकामा यो खबर छ ।