
काठमाडौँ, १८ साउन । दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग उसकै घरेलु मैदानमा प्रतिष्पर्धा गर्दैछ ।
नेपाली समयानुसार शुक्रबार दिउँसो २ः४५ बजे नेदरल्याण्ड्सस्थित भिआरए मैदानमा नेपाल र नेदरल्याण्ड्सबीच खेल हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
यसअघि बुधबार भएको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीयमा नेपाल आयोजक नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको थियो ।
पहिलो खेलमा हात पारेको खराब नतिजालाई उल्टाउने दाउका साथ नेपाल मैदानमा उत्रदै छ । पहिलो खेलमा उत्रिएका खेलाडीको स्थानमा केही परिवर्तन समेत गरिने भएको छ ।
पहिलो खेलमा नेदरल्याण्डससँग ५५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा जितका लागि मैदानमा उत्रनेछ । पहिलो खेलमा बलिङमा राम्रो खेलेपनि ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसक्दा हार बेहोर्न बाध्य भयो ।
साथै, खेलाडी शरद भेषवाकरको औलामा चोट लागेपछि ब्याटिगमा क्रिजमा आउन कै लागि भएपनि मैदान प्रवेश गरेका थिए । यस्तै, आजको खेलमा बलर शक्ति गौचन खेल्ने छैनन् ।
नेपालले आजको खेलमा जित हात पारेमा दुई खेलको श्रृखंला बराबरी गर्ने राम्रो मौका हुनेछ । पहिलो अन्तराष्टिय श्रृखंलामा जित निकालेर आईसीसीको बरियताको औपचारिक ढोका खोल्ने बाटो नेपाललाई हुनेछ ।
नेपाली टोलीमा पारस खड्का कप्तान, अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल छन् ।
नेदरल्यान्ड्स टोलीमा पिटर सिलार (कप्तान), वेस्ले बारेसी, बास डे लिडी, बेन कुपर, स्कट इडवार्ड्स, फ्रेड क्लासन, हिडे ओभरजिक स्टेफिन माइबुर्घ, पाउल भान मीकेरेन, म्याक्स ओडोड, हिडी ओभरजिक्स, मिचेल रिप्पोन, सेन स्टनर, ड्यानियल टेर ब्राक छन् ।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट एक दिवसीय मान्यता पाएयता खेल्न लागेको यो दोस्रो अवसर हो ।















