‘स्तनपान: जीवनको मूल’ आधार भन्ने नाराका साथ यसवर्ष स्तनपान दिवश साताव्यापि रुपमा मनाइँदै छ । बच्चा जन्मिएको कम्तिमा ६ महिनासम्म बच्चालाई आमाको दूध मात्र खुवाउनुपर्छ। बच्चालाई औषधि वा जीवनजल आवश्यक परेको बेलामा दिन सकिन्छ। तर, सकभर नवजात शिशुलाई आमाको दूध मात्र खुवाउनु राम्रो हो। विश्व स्वास्थ्य संगठनका अनुसार शिशुलाई कम्तिमा पनि ६ महिनासम्म आमाको दूधमात्र खुवाउनुपर्छ, जसले शिशुको शारीरिक एवं मानसिक विकासमा सहयोग पुर्याउँछ।
६ महिनापछि भने शिशुलाई अन्य पोषण तत्व मिसाइएका खानेकुरा खुवाउन सकिन्छ। ६ महिनापछि आमाको दूधले मात्र शिशुको विकासमा पर्याप्त सहयोग गर्दैन। सामान्यतया अन्य पोषण तत्वसँगै बच्चालाई दुई वर्षसम्म स्तनपान गराउन सकिन्छ।
हाम्रो समाजमा नवजात शिशुलाई जन्मिने बित्तिकै मह, घिउ खुवाउने चलन छ। तर, यो पटक्कै गर्न नहुने काम हो। यसले स्तनपानमा समस्या आउन सक्छ भने शिशुलाई संक्रमण हुन सक्छ। केही बच्चालाई झाडाबान्ता समेत हुन्छ।
शिशु जन्मिने बित्तिकै पहिलो पटक आउने दूध शिशुका लागि निक्कै लाभदायक हुन्छ। पहिलो दूधलाई नफाली बच्चालाई खुवाउनुपर्छ।
स्तनपानका फाइदा
स्तनपानले आमलाई गर्भ निरोधकको रुपमा काम गर्छ । शिशुलाई स्वास्थ्य वृद्धि विकास, सम्पूर्ण आहारा, पानीको स्रोत हो । आमाको दूधमा पाइने तत्वले शिशुलाई रोगसँग लड्ने क्षमता हुन्छ ।
शिशुलाई जन्मनासाथ छातिमा टासेर राख्दा पाठेघर खुम्चिने प्रक्रियालाई उत्तेजित पार्छ । यसले सालनाल निक्लन र रक्तश्रावसमेत बन्द हुने र आमाको तनावसमेत कम हुने महाशाखाका अधिकृत मुकुन्दराज गौतम बताउनुहुन्छ ।
आमाको दूधमा रोगाणुनाशक तत्व हुन्छन् । आमाको दूधमा लेक्टोफोर्मिन नामको पोषक तत्व हुन्छ, जसले शिशुहरूको शरीरमा फलामतत्व दिन्छ । आमाको दूधबाट आएका साधारण जीवाणुले शिशुको शरीरमा उब्जने विभिन्न रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्दछन् ।
बाहिरी वातावरणबाट आमाको शरीरमा पुगेका रोगका जीवाणु, शरीरमा रहेको विशेष भागको सम्पर्कमा आउछन् र शरीरले ती विशेष रोगाणुको विरुद्ध प्रतिरोधात्मक तत्वहरू बनाउछ ।
यो तत्व थोरासिक डक्ट भनिने एक विशेष नलीबाट सिधैँ आमाको स्तनसम्म पुग्छ र दूधबाट बच्चाको पेटमा पुग्दछ । यसरी शिशु आमाको दूध नियमित रूपमा खाएर स्वस्थ रहन्छन् ।
स्तनपानको महत्व
१) आमाको दूधमा पाइने कार्बोहाइड्रेड, प्रोटिन र मिनरलले बच्चालाई चाहिने सम्पूर्ण पोषणतत्व परिपूर्ति गर्छ।
२) बच्चामा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गराउँछ।
३) बच्चालाई संक्रमण हुनबाट जोगाउँछ।
४) आमा र शिशुबीच आत्मीयता बढाउँछ।
५) आमाको दूध शिशुले सजिलै पचाउन सक्छ।
६) आमाको पाठेघर खुम्चिन सहयोग पुग्छ। स्तनपान गर्दा शरीरमा आउने अक्सिटाइसिन नामक हर्मोनले आमाको शरीर पुरानै अवस्थामा फर्काउन मद्दत गर्छ।
७) आमाको स्तन र पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउँछ।
८) शिशुलाई स्तनपान गराउँदा केही महिना परिवार नियोजनको समेत काम गर्छ। यसलाई ल्याक्टरनल यमिनोरिया भनिन्छ। तर, यसका लागि आमाले दिउँसो मात्र होइन राति पनि कम्तिमा चार घण्टाको फरकमा स्तनपान गराउनुपर्ने हुन्छ।
९) बाहिरको दूध (ल्याक्टोजिन) किनेर खुवाउनु नपर्दा खर्च जोगिन्छ।
१०) स्तनपान गराउँदा बच्चाको शारीरिक र मानसिक विकासमा टेवा पुग्छ। आमाको दूध नै बच्चाको लागि सर्वोपरी हुन्छ। त्यसैले स्तनपानलाई ‘गोल्ड स्ट्यान्डर्ड’ पनि भनिन्छ।
स्तनपान गराउने आमाले के गर्ने?
१. सुत्केरी हुनपूर्व नै बच्चालाई स्तनपान कसरी गराउने भन्नेबारे आमाले जानकारी राख्ने। ताकि बच्चा जन्मी सकेपछि स्तनपानमा कठिनाइ नपरोस्।
२) शिशु जम्मिएको एक घण्टाभित्र नै स्तनपान गराउने।
३) प्रत्येक दुई घण्टामा बच्चालाई स्तनपान गराउने।
४) प्रत्येक पटक स्तनपान गराइसकेपछि एक गिलास दूध वा जुस पिउने।
५) बच्चा बिरामी छ तर खान सक्छ भने स्तनपानलाई निरन्तरता दिने।
६) शिशुलाई स्तनपान गराउँदा राति पनि उठ्नुपर्ने हुनाले आमाले समय मिलाएर आराम गर्नु अत्यन्त जरुरी हुन्छ।
७) आमाको स्वास्थ्य मजबुत राख्नका लागि सम्पूर्ण पोषण तत्व पुग्ने गरी खानेकुरा खाने।
८) आमालाई एचआइभी/एड्सको संक्रमण भएमा स्तनपान नगराउने।
९) स्तनमा संक्रमणका कारण आमाले औषधि प्रयोग गरेको अवस्थामा पनि स्तनपान नगराउने।
१०) आमालाई टिबी, हेपाटाइटिस बि र ईजस्ता रोग छन् भने स्तनपान गराउनु हुँदैन।
नवजात शिशुको तौल एकदमै कम भएमा शिशुले स्तनपान गर्न सक्दैन। शिशुमा श्वासप्रश्वासको समस्या भएमा पनि स्तनपान गर्न सक्दैन। आमाले स्तनपान नगराउने वा शिशुले स्तनपान गर्न नसक्ने अवस्था भएमा मात्र १ नम्बरको ल्याक्टोजिन प्रयोग गर्नुपर्छ।
ल्याक्टोजिनको प्रयोग गर्दा सरसफाइमा एकदमै ध्यान दिनुपर्छ। यदि लापरबाही भयो भने बच्चामा चाँडै संक्रमण फैलिएर रोगले च्याप्न सक्छ।