काठमाडौं । २०७२ माघ २२ गते डीआईजी गोविन्द निरौला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रहरी प्रमुखका रुपमा सरुवा भए । त्यसअघि सोही स्थानमा थिए डीआईजी विजयलाल कायस्थ ।

महानगरीय अपराध महाशाखा प्रमुख तत्कालीन एसएसपी कायस्थलाई तत्कालीन गृहमन्त्री बामदेव गौतमले विमानस्थलको निमित्त प्रमुख बनाएर पठाएका थिए ।

Advertisement

डीआईजीको दरबन्दी भएको ठाउँमा निमित्त प्रमुख भएर गएका कायस्थ पनि शङ्काको घेरामा छन् । प्रहरी केन्द्रीय कार्यलय सूत्रका अनुसार कायस्थरहेका बेला विमानस्थलबाट सुन पास गराउनका लागि रुट नै बनेको थियो ।

प्रहरी स्रोतका अनुसार, त्रिभुवन विमानस्थलस्थित नेपाल आयल निगमको हवाई इन्धन डिपोको गेटबाट विमान पार्किङस्थलसम्म चेकजाँच नै नहुने रुट थियो । त्यही रुटको बीचमा थियो नेपाल बायुसेवा निगमको गोदाम ।

सिनामङ्गलस्थित हवाई इन्धनको डिपोबाट अगाडि बढेपछि वायुसेवा निगमको सामान राख्ने गोदाम, गोदामबाट एप्रोन हुँदै विनाचेकजाँच जहाजसम्म गाडी पुग्थ्यो ।

त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मा पाएको वायुसेवा निगमको गोदाममा विमानका यात्रुहरुका लागि आवश्यक उपभोग्य वस्तुहरु पिनट्स, ह्विस्की, कोक, फेन्टा, बियर तथा ब्ल्याङ्केट जस्ता सामग्री गाडी मार्फत जहाजसम्म पुग्थ्यो भने विमानबाट निस्कने फोहोर गाडीमार्फत गोदाममा आउँथ्यो ।

यसरी बायुसेवाको जहाजबाट सङ्कलन गरिएको फोहोरको थुप्रोमा मिसिएर आउने अवैध सामान गोदाममा जम्मा गर्ने नाममा सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजसँगैको पिपलको रुखहुँदै बाहिरन्थ्यो । न प्रहरी अवरोध न एक्सरे मेसिनमा जँचाउनुपर्ने झन्झट ।

एयरपोर्टका ‘शिकार’ : एसएसपी रविराजदेखि श्याम खत्रीसम्म

एसएसपी हुँदा एयरपोर्ट गएका कायस्थ त्यहीँबाट डीआईजीमा बढुवा भए । २०७१ भदौमा कायस्थ बढुवा भएपछि उनको ट्वाइसीका रुपमा एसएसपी श्यामबहादुखर खत्रीलाई एयरपोर्ट ल्याइएको थियो ।

उच्च व्यक्तिहरुसमेत जोडिएको सुन पास गाउने गोप्य रुटबारे एसएसपी खत्री जानकार थिए । एक जना बरिष्ठ अधिकारी भन्छन् ।

पछि गोविन्द निरौलाले कायस्थलाई रिप्लेस गरेपछि डीआईजी निरौलालाई खत्रीले नै जहाजको फोहोर र कोक–फेन्टा ओसारपसारको नाममा अवैध सामान भित्रिने गरेको जानकारी दिएका थिए ।

त्यसपछि डीआईजी निरौलाले वायुसेवाको गोदाम त्यहाँबाट हटाउन निर्देशन दिए । गोदाम हटेपछि कोक, फेन्टा त्यो बाटो हुँदै लैजानसमेत रोक लगाएका निरौलाले भनिदिए, ‘अरुको सामान जाने–आउने नियमित बाटोबाटै वायुसेवाको सामान पनि ओहोरदोहोर हुन्छ, सबैलाई एकै खालको चेकजाँच गरिन्छ ।’

डीआईजी कायस्थ अहिले प्रहरी प्रधान कार्यालयमा छन् । उनको मातहत रहेर काम गरेका एसएसपी खत्रीलाई भने आइतबार केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।

डीआईजी निरौलाले सुन बोक्ने साइडको बाटो बन्द गरेपछि अवैध सुन मूलबाटो हुँदै बाहिरिन थालेको थियो । एक्सरे मेसिनबाट बाहिर ल्याएपछि विभिन्न निकायका प्रहरीले चेकजाँच गर्ने हुनाले ठूला अफिसरको सहयोग आवश्यक हुन्थ्यो ।

त्यसैक्रममा विमानस्थल भन्सारमा बसेर लामो समयदेखि सुन तस्करलाई सहयोग गर्दै आएका तथ्याङ्क अधिकृत श्रिनारायण यादव र एक्सरे मेसिन टेक्निसियन राजकुमार ढकालले एसएसपी खत्रीलाई प्रयोग गरेका थिए ।

‘सोझो अफिसर’को रुपमा परिचित खत्रीलाई यादवले सुनको कमिसन भन्नुको साटो ‘मेरो सामान आउँदै छ’ भनेर केही पैसा दिनेगरेको बताइएको छ ।

गत पुस १ गते फेला परेको साढे ३३ किलो सुन एयरपोर्टबाट पास गराउनका लागि सहयोग गर्नका लागि भन्दै यादवले खत्रीलाई एक लाख रुपियाँ बुझाएको बयान दिएका छन् ।

माथिसम्म सुनको कमिसन

एउटा एसएसपीले मात्र करोडौँ मूल्यको अवैध सुनको सेटिङ मिलाउन असम्भव जस्तै हुन्छ । किनभने एयरपोर्टमा विभिन्न सुरक्षा अङ्गका अधिकारीहरु तैनाथ हुन्छन् । कुनै निकायलाई शङ्का लागेमा वा सूचना लिक भएमा लगेज खोलेर चेकजाँच गर्ने अथोरिटी हुन्छ ।

सुन तस्करहरुले श्यामबहादुर खत्रीभन्दा माथिका अफिसरलाई समेत रकम बुझाउने गरेको बताइएको छ । केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका भन्सारका तथ्याङ्क अधिकृत श्रिनारायण यादवले महानगरीय प्रहरी आयुक्त कार्यालयका उच्च अधिकारीलाई समेत पैसा बुझाउने गरेको बयान दिएका छन् ।

यादवको बयानका आधारमा आयुक्त कार्यालयका एक उच्च अधिकारी र एयरपोर्टका डीआईजी गोविन्द निरौलालाई समेत सीआईबीले सुन तस्करी प्रकरणमा बयानका लागि बोलाउने सक्ने स्रोतको दाबी छ ।

सुन पास नगर्ने डीआईजी तीन महिनामै फिर्ता
एयरपोर्ट यस्तो ठाउँमा हो, जुन ठाउँलाई प्रहरी अधिकारीहरु ‘फोहोरको आहाल’ भन्छन् । आहालमा डुबुल्की मार्न नजान्ने अफिसरहरु कि विवादमा तानिन्छन् कि फिर्ता हुन्छन् । एयरपोर्ट बसेका एसएसपी रविराज श्रेष्ठ, डीआईजी गोपाल भण्डारी र एसएसपी श्यामबहादुरख खत्री कलङ्कको टीका लगाएर बाहिरिए ।

तर, नेपाल प्रहरीका तत्कालीन डीआईजी यादव अधिकरी सुनको सेटिङमा संलग्न हुन नमान्दा तीन महिनामै हेड्क्वार्टर तानिएका थिए ।

विजयलाल कायस्थभन्दा अगाडि हालका एआईजी यादव अधिकारी एयरपोर्ट प्रहरी प्रमुख थिए । उनलाई विनाकारण फिर्ता बोलाएर तत्कालीन गृहमन्त्री वामदेव गौतमले एसएसपी कायस्थलाई निमित्त प्रमुख बनाएर डीआईजीको कुर्सीमा बसाले । पछि उनलाई डीआईजीको फुली उपहार दिईएको रातोपाटीमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!