काठमाडौँ, ७ साउन । यस वर्षको साउन महिनाको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।
बिहान ३ बजेदेखि नै भक्तजन पूजा एवं दर्शनका लागि लाममा बसेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए।
बिहान केही समय वर्षात्ले लाममा बसेका भक्तजनलाई अप्ठ्यारो पारेर केही समय रोकिए पनि सहज रुपमा लाम सरेको उनले बताए । दिउँसो १ बजेसम्म अढाई लाखभन्दा बढी भक्तजनले मूल मन्दिर प्रवेश गरी पूजा गरेको कोषले जनाएको छ ।
सूर्य दक्षिणायन भएको पहिलो साउने सोमबार भगवान् शिवको प्रिय भएकाले यस दिन शिवालयमा पूजा, दर्शन एवं जल चढाउने परम्परा बसेको हो । पशुपतिनाथसँगै देशभरका शिवालयमा पनि भक्तजनको भीड लागेको छ । साउन महिनामा पवित्र नदी, ताल आदिबाट जल लगेर शिवालयमा चढाउन बोल बम मेला पनि लाग्ने गर्छ ।
साउनको सोमबार व्रत बसी भगवान् शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।