धनगढी, ७ साउन । यस वर्ष साउन महिना लाग्दासम्म प्रदेश नं ७ का अधिकांश जिल्लामा ठूलो मनसुनी वर्षा हुन नसक्दा रोपिएको धानबाली सुक्न थालेको छ ।

Advertisement

आकासको पानीको भरमा धान रोपाइँ गरिएको धानबाली पर्याप्त वर्षा नहुँदा प्रभावित भएको हो ।

रोपिएको धानमा पानीको अभाव सिर्जना भएपछि खेतमा चिरा पर्न थालेको स्थानीय किसान जंगवीर चौधरीले बताउनुभयो । “बोरिङबाट पानी तानेर धान रोपाइँ गरियो, किसान जंगवीरले भन्नुभयो, “वर्षा नहुँदा देखिएको खडेरीले धान सुकेर जाने चिन्ता लागेको छ ।” खास गरी प्रदेशका पहाडी जिल्लाको तुलनामा धान उत्पादनका प्रमुख जिल्ला तराईका कैलाली र कञ्चनपुरको धान बालीलाई पुग्ने गरी मनसुनी वर्षाको अभाव भएको छ ।

पहाडका जिल्लाबाहेक तराईको जिल्ला कैलालीमा ७१ हजार २५० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४५० हेक्टर जग्गामा धानबालीको खेती हुने गरेको छ । यस क्षेत्रमा मनसुनी वर्षा साउन लाग्दासम्म पूर्णरुपमा सक्रिय हुन नसकिरहेको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित फिल्ड कार्यालयका प्रमुख एपी चौरसियाले बताए ।

यसपालि धेरै पानी नपर्ने कमजोर मौसम देखिएको चौरसियाले बताए । यस क्षेत्रमा गएको असार १८ गते ९८ मिलिमिटर र २० गते ५१ मिमि वर्षा भएको रेकर्ड भएको थियो ।

यो दुई दिनबाहेक त्यसपछि धानबालीलाई पुग्ने गरी ठूलो वर्षा हुन सकेको छैन । प्रदेश नं ७ मा यस वर्ष जेठ २५ गते मनसुन भित्रिएको भए पनि कमजोर मनसुन रहेको चौरसियाले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!