काठमाडौँ, ६ साउन । सरकारले भूमिसम्बन्धी सम्पूर्ण जानकारी दिने उद्देश्यले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ ।

Advertisement

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ‘भूमि सुशासन’ नामक एप्स प्रयोगमा ल्याएको हो । यस एपलाई ‘नक्सा’ नामक संस्थाले विकास गरेको हो ।

एप्समा मन्त्रालयका भूमिसम्बन्धी सेवाको सम्पूर्ण जानकारी उपलब्ध हुनेछ । भूमिसम्बन्धी कानूनसमेत एप्समा समेटिएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहसचिव जनकराज जोशीले जानकारी दिनुभयो । मोबाइल एप्समा भूमि चाँजसम्बन्धी जानकारी समेटिएको छ ।

यस्तै मालपोत, नापीलगायतका कार्यालयमा दिइने निवेदनका ढाँचा डाउनलोड गर्ने व्यवस्थासमेत रहेको छ । सामान्य नागरिकले जग्गासम्बन्धी भोग्ने समस्यालाई एप्सले समाधान गर्ने प्रयास गरेको छ । जग्गाबारे सर्वसाधारणमा बारम्बार उठ्ने जिज्ञासालाई समेटेर एकै ठाउँमा उत्तर संकलन गरिएको छ ।

भूमिसम्बन्धी पदावलीको अर्थ नेपाली र अंग्रेजी दुवै भाषामा राखिएको छ । मालपोत र नापी कार्यालयको ठेगानासहितको विवरण पनि एप्समा समेटिएको छ ।

त्यस्तै भूमिसम्बन्धी कार्यालय, त्यहाँबाट प्रदान गरिने विभिन्न सेवा, आफूलाई चाहिने कार्यालय पत्ता लगाउने तरिका र नापी क्यालकुलेटर समावेश गरिएको छ ।

“यस एप्सबाट मालपोत, नापी र भूमिसुधार कार्यालयका मुख्य सेवाको विवरण आम नागरिकले सजिलै प्राप्त गर्नेछन्”, एप डेभलप गर्ने नक्साका संस्थापक उत्तम पुडासैैनीले भन्नुभयो, “यस एपमा राखिएको बडापत्रमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालका सबै विभाग र कार्यालयबाट प्रदान गरिने सेवा, ती सेवा लिन आवश्यक कागजात, लाग्ने दस्तुर, समय, जिम्मेवार अधिकारीको विवरण राखिएको छ ।

नागरिकले यस एपबाट आफ्नो प्रदेश, जिल्ला र वडा नम्बर राखेपछि आफूले सेवा लिने कार्यालयको विवरण उपलब्ध हुने पुडासैनीले जानकारी दिनुभयो । उहाँका अनुसार यस एप्पमा रहेको नापी क्याल्कुलेटरले जग्गाको लम्बाइ, चौडाइ प्रविष्ट गराएर क्षेत्रफल विभिन्न एकाइमा परिवर्तन गर्न मिल्ने बनाइएको छ । एप्पमा सातै प्रदेश र ७५३ स्थानीय तहको नक्सासमेत उपलब्ध छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!