धनगढी, ५ असार । धनगढी उपमहानगरपालिकाले शुक्रबारदेखि सबै वडामा गरीब घर परिचयपत्र वितरण शुरु गरेको छ ।

Advertisement

उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले उपमहानगरपालिका–१ शान्ति टोलकी गंगादेवी कोलीलाई रातो रङको अति गरीब, मुक्तकमैया शिविरकी मैनादेवी चौधरीलाई पहेँलो रङको मध्यम गरीब र सहवीर चौधरीलाई सामान्य गरीब नीलो रङको परिचयपत्र वितरण गरी परिचयपत्र वितरण गर्दै गरीब घर परिचयपत्रका आधारमा राज्यले भविष्यमा सेवासुविधा दिने बताए ।

यसअघि परिचयपत्र वितरणमा सहभागी हुने कर्मचारीलाई गरीब घर परिचयपत्र वितरणसम्बन्धी अभिमुखिकीकरण दिइएको थियो । उपमहानगरमा पाँच हजार ८८५ जना गरीबीको परिचयपत्र पाउनयोग्य रहेको बताइएको छ ।

उपमहानगरपालिका कार्यालयका प्रशासकीय अधिकृत सुरेन्द्रसिं कार्कीले उपमहानगरमा गरीबमध्ये अतिगरीब दुई हजार ८५८, मध्यम गरीब एक हजार ८३७ र सामान्य गरीब एक हजार २९० जना रहेको जानकारी दिए ।

देशमा कैलालीसहित आठ जिल्लामा नमूनाका रुपमा गरीब घर परिचयपत्र वितरण गर्न लागिएको छ । सरकारले विसं २०६९ मा गरेको गरीबको सर्वेक्षणका आधारमा परिचयपत्र दिने कार्य शुरु भएको हो । यसैबीच सेवाग्राहीको समस्यालाई ध्यानमा राखी उपमहानगरले नागरिकता प्रमाणपत्र लिनुअघि आवश्यक पर्ने फाराम सेवाग्राहीलाई निःशुल्क रुपमा उपलब्ध गराउन लागेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!