मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
केही अप्ठ्यारा परिस्थिति सामना गर्नुपरे पनि यो महिना लाभदायक रहनेछ। सानो प्रयत्न दिगो फाइदाको कारक बन्न सक्छ। कामका चुनौती पार लगाउँदै लक्ष्यनजिक पुग्न सफल भइनेछ। आफन्तको विश्वास भरपर्दो नहुन सक्छ। अरूको समस्या सुल्झाउने प्रयास गर्दागर्दै आफ्नो अवस्था कमजोर बन्ने समय रहेकाले सजग रहनुहोला। पुरानो सम्झौता भंग हुनाले कानुनी मार्ग अवलम्बन गर्नुपर्ने स्थिति आउन सक्छ। साझेदारीमा असमझदारी देखा पर्नेछ। फसेको धन उठाउन कडा रूपमा प्रस्तुत हुनुपर्नेछ। हिम्मतले मात्र अधिकार र उपलब्धि हासिल गर्न सफल भइनेछ।

Advertisement

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
विशेष अवसर प्राप्त हुनेछन्। तर लगनशीलताले मात्र प्रतिफल दिलाउनेछ। यथासमयमा लाभ उठाउने चेष्टा नगर्दा पछि परिनेछ। लाभांशका लागि प्रतिस्पर्धीहरू सामना गर्नुपर्ला। अधिकारका लागि पनि बेलैमा सजग रहनुपर्नेछ। नोकरी तथा राजनीतिमा ठूलो प्रतिफल हातलागी नहुन सक्छ। दाजुभाइको सम्बन्ध वादविवादमा अल्झिने समय रहेकाले सजग रहनुहोला। कृषि तथा उद्योग–व्यवसाय फाइदाजनक रहनेछ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले नयाँ काम शुभारम्भ गर्न सकिनेछ। कीर्तिमानी काम शुभारम्भ गर्न सकिनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
पढाइ, संगीत र लेखनकलामा निखारता आउनुका साथै विशेष उपलब्धि प्राप्त गर्न सकिनेछ। अवसरका लागि केही दौडधुप भने गर्नुपर्नेछ। टाउको, आँखा वा पेटको समस्याले सताउने हुँदा स्वास्थ्यका लागि सजग रहनुहोला। धनमाल हराउने वा स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना छ। आफ्ना कमजोरीमाथि टिप्पणी वा गुनासो बढ्न सक्छ। तापनि बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सफल भइनेछ। अप्ठ्यारो समयमा शुभचिन्तकहरूको साथले राहत दिलाउनेछ। संघर्षका बाबजुद सामाजिक प्रतिष्ठा प्राप्त गर्न सफल भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
उच्च रक्तचाप, टाउको दुखाइ वा मौसमी रुघाखोकीले सताउन सक्छ। आफन्तसँग असमझदारी बढ्नेछ भने शुभचिन्तकहरूको साथ नजुट्न सक्छ। सानो कमजोरीले क्षेत्राधिकार संकुचित बन्न सक्छ। समयमा काम गर्न नसक्दा केही अवसर हातबाट फुत्कन सक्छ। तापनि बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। भोगविलासमा मन रमाउनेछ। कृषि तथा पशुधनबाट फाइदा हुनेछ। अभिव्यक्तिकलामा निखारता आउनुका साथै लेखनतर्फ रुचि बढ्नेछ। आम्दानी र खर्चको सन्तुलन मिलाउन नसक्दा अर्थअभाव देखापर्नेछ। प्रयत्न गर्दा दिगो काम थालनी हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
यस महिनामा केही व्यावहारिक उतारचढाव आउन सक्छन्। आम्दानीको तुलनामा बढी खर्च हुनाले आर्थिक समस्या देखापर्न सक्छ। लगानी र श्रमबाट कममात्र प्रतिफल पाइनेछ। काममा ढिलासुस्ती र सरकारी कडिकडाउको सिकार भइनेछ। यात्रामा सवारी साधन उपयोग गर्दा सावधान रहनुहोला। खर्च लागे पनि देश–विदेशको यात्रा गर्ने अवसर जुट्न सक्छ। मिहिनेत गर्दा नसोचेको उपलब्धि हासिल गर्न सकिनेछ। भाग्यले असल प्रेमपात्र जुराउनेछ भने भविष्यका लागि विशेष कामको जग बसाउने समय छ। केही वस्तु त्याग्नुपरे पनि यस महिनामा ऋण वा कर्जा चुक्ता गर्न सफल भइनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
विभिन्न अवसरले आकस्मिक लाभ हुनेछ। मानसम्मानका साथै उत्साहवद्र्धक समाचार सुन्न पाइनेछ। प्रशस्तै आम्दानी बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने जीवनसाथीको सहयोगले गृहस्थी आनन्दमय बन्नेछ। नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ। व्यापार तथा सेयरतर्फ लगानीको अवसर जुट्नेछ। व्यवसाय, कृषि तथा पशुधनबाट मनग्गे लाभ हुनेछ। भौतिक साधन जुट्नुका साथै भोगविलासमा मन रमाउनेछ। उच्च महत्वाकांक्षाले भने केही हानिसमेत गराउन सक्छ। अरूका विषयमा चासो राख्ने बानीले आत्मसम्मानमा बाधा पुग्नेछ, सजग रहुनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
मेहनतले विशेष अवसर दिलाउनुका साथै जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। कीर्तिमानी कामले लोकप्रियता दिलाउनेछ। आत्मसम्मानका साथ प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरू नजिकिनेछन्। स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। तापनि पैत्रिक सम्पत्तिको उपयोग गरी फाइदा उठाउन सकिनेछ। यो महिनामा केही विवादास्पद काममा हात हाल्नुपर्ने देखिन्छ। नोकरी तथा राजनीतिमा समेत चुनौतीपूर्ण कार्य गर्नुपर्ला। खर्च लागे पनि दिगो फाइदा हुने काममा जग बसाउने समय छ। पारिवारिक मतभेदले वादविवाद निम्त्याउन सक्छ। आफन्तबाटसमेत टाढिनुपर्ने हुन सक्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
केही संघर्ष गर्नुपरे पनि अनुभव, चुनौती र आवश्यकता नै कर्मयोगका प्रेरक बन्नेछन्। अरूका काममा समय खर्चनुपरे पनि कालान्तरमा आफैंलाई फाइदा हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। बन्धुबान्धव तथा गुरुजनसँग आत्मीयता बढ्नेछ। नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ। धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन्। भाग्यले असल प्रेमपात्र जुराउन सक्छ। पहिले टाढिएका आफन्तहरू नजिकिनेछन्। समाजमा गुमेको स्थान प्राप्त हुनुका साथै आफ्नो वर्चस्व बढ्नेछ। परिस्थितिले उब्जाएको वादविवाद सम्झौतामा टुंगिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
महिनाभरि कष्टभावमा रहने सूर्यको प्रभावले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ। सरोकार नभएका विषयमा चासो राख्नाले व्यर्थैमा दुःख पाइनेछ। आयमूलक काममा मन्दी आउन सक्छ। आफ्ना काममा अरूले हस्तक्षेप गर्ने हुँदा गोपनीयतामा ध्यान दिनुहोला। खराब व्यक्तिको विश्वासमा पर्नाले धोका हुन सक्छ। चोटपटकको योग समेत देखिएकाले सवारी तथा हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। लामो सक्रियता स्वास्थ्यका लागि बाधक बन्न सक्छ। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्याउनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
यो महिनाभरि व्यापारमा मनग्गे लाभ हुनाले आर्थिक स्थितिमा सुधार आउनेछ। आस मारेको काम सम्पादन हुनाले उत्साह जाग्नेछ। विभिन्न अवसर प्राप्त हुनाले जोस–जाँगर बढ्नेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने साइत जुर्नेछ। सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन, सवारी आदि जोड्ने समय छ। लगानी बढाउनुपरे पनि व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ। मित्रता र प्रेमको बन्धन भने कमजोर हुनेछ। अरूका विषयमा चासो राख्ने बानीले पनि आत्मसम्मानमा चोट पुर्याउन सक्छ। पतिपत्नीको मतभेदले घर–गृहस्थी अलि असामान्य रहनेछ। स्वास्थ्यका लागि अलि सजग रहुनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
प्रतिस्पर्धा गर्नुपरे पनि आँटले काम लिँदा फाइदा उठाउन सकिनेछ। नयाँ उद्योग वा विशेष काम प्रारम्भ गर्ने मौका छ। आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले चुनौतीहरू पार लाग्नेछन्। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। छुट्टिएका प्रेमीहरूको पुनर्मिलन हुनेछ। साझेदारीमा केही विवाद आउन सक्छ। ठगीमा परिने समय रहेकाले धनमाल सुरक्षामा सजग रहनुपर्ला। सामाजिक काममा पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने देखिन्छ। शत्रुबाधा, मुद्दामामिला र वादविवाद समेत सामना गर्नुपर्ने हुन सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
अवसरका लागि केही दौडधुप गर्नुपर्ला। अस्वस्थताले आँटेका काममा केही विलम्ब हुनेछ। तापनि शुभचिन्तकहरूको साथ जुट्नाले फाइदा उठाउन सकिनेछ। सन्तानका माध्यमबाट पनि लाभ मिल्नेछ। टाढिएका आफन्तसँग भेटघाट तथा मेलमिलाप हुनेछ। गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला प्राप्त हुनेछ। परिस्थितिले साथ दिनेछ भने मनको डर उत्साहमा रूपान्तरित हुनेछ। बौद्धिक क्षमता बढ्नुका साथै अध्ययनमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। कमजोरी सुधार गर्न शुभचिन्तकहरूको सुझावलाई ध्यान दिनुहोला।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!